महामन्त्री मुकुलको प्रतिवेदनले रास्वपामा तरङ्ग, बोलाइयो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले महामन्त्री डा. मुकुल ढकालले देश दौडाहापछि तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदनबारे छलफल गर्न असार १९ गते केन्द्रीय समितिको बैठक बोलाएको हो ।

इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देशभरका नेता-कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिए अनुसार प्रतिवेदन बनाएर सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । महामन्त्री ढकालको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरी अगाडि बढिरहेमा रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकालिएको छ ।

आफूले जन्माएको पार्टी भएका कारण आफूले प्रतिवेदनमा यथार्थ उल्लेख गरेको बताउँदै उनले यसका लागि आफ्नो महामन्त्री पद समेत जान सक्ने उल्लेख गरेका छन् । महामन्त्री ढकालको प्रतिवेदनले पार्टीमा तरङ्ग ल्याएको छ ।

गत आम निर्वाचनबाट संसद्को चौथो राष्ट्रिय दलका रूपमा उदाएको रास्वपालाई कतिपयले ‘खहरे’ को संज्ञा दिने गरेका बेला महामन्त्री स्वयंले नै पार्टी यही बाटोमा रहेको औंल्याएका छन् । तर, उनको यो निष्कर्षप्रति रास्वपाका सबै नेताहरू सहमत भने छैनन् ।

पछिल्लो समय सभापति लामिछानेले पार्टीको सहमतिबिना एकल निर्णय लिन थालेपछि असन्तुष्टि बढ्दै गएको छ । सरकारमा सहभागिताको विषयमा पनि रविले आफूलाई मात्र केन्द्रमा राखेको सोही पार्टीका सांसदहरूले आरोप लगाउँदै आइरहेका छन् । कतिपयले त रास्वपा विभाजनको संघारमा पुगेको तर्क पनि गरिरहेका छन् ।

महामन्त्री ढकालले त प्रतिवेदनमा रास्वपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएसँगै बालेनले पार्टी खोल्ने सम्भावना पनि बढ्दै गएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको …

प्रतिकृया दिनुहॊस