आयुर्वेद सेवाको प्रवर्द्धन गर्न पत्रकारसँग अन्तरक्रिया, भोलि औषधिजन्य जडीबुटी मेला

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय तहका पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । चिकित्सालय र यस मातहत रहेका नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयमार्फत प्रदान गर्दै आएका सेवाहरुको बारेमा जानकारी दिने उदेश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

शुक्रबार अन्तर्राष्ट्रिय योग दिवस २०२४ परेकोले कार्यक्रमको पूर्वसन्ध्यामा पत्रकारहरुले करिब २ घण्टा योग अभ्यास गरेका थिए । उनीहरुलाई चिकित्सालयकी प्रमुख डा. पुनम नेपालले योग अभ्यास गराएकी थिइन् । कार्यक्रमको दोस्रो खण्डमा चिकित्सालयले वार्षिक रुपमा गर्दै आएका कार्यक्रम, चिकित्सालयबाट प्रदान हुने सेवाहरुको बारेमा प्रस्तुतीकरण गरिएको थियो ।

चिकित्सालयले प्रवर्द्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र औषधि वितरण सेवा सञ्चालन गर्दै आएको चिकित्सालयकी प्रमुख डा. नेपालले जानकारी गराइन् । चिकित्सालयले १६ बेडको अस्पतालको स्वीकृति प्राप्त गरे पनि भौतिक संरचनाको अभावमा शैय्याको व्यवस्था गर्न सकेको छैन ।

प्रस्तुतीकरणपछि पत्रकारहरुसँग छलफल तथा अन्तरक्रियामा पत्रकारका प्रश्न, जिज्ञासा तथा सुझावहरुलाई डा. नेपाल र टिमद्वारा निराकरण र सम्बोधन गर्ने प्रयास गरिएको थियो । कार्यक्रमलाई समापन गर्दै चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक ईश्वरी प्रसाद ढकालले आयुर्वेद सेवाको प्रवर्द्धनमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे । चिकित्सालयले निःशुल्क र अतिन्यून शुल्कमा आयुर्वेद सेवा प्रदान गर्दै आइरहेको तर यसको समाजमा प्रचारप्रसार हुन नसकेको उनको गुनासो छ ।

चिकित्सालयले वागमती प्रदेश सरकारको स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत नै ‘औषधिजन्य जडिबुटी मेला’ को आयोजना गर्ने भएको छ । मेला भोलि शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा सञ्चालन हुने डा. नेपालले जानकारी दिइन् । मेलामा जडिबुटीहरुको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडिबुटीहरुको जानकारी, स्वास्थ्य प्रवद्र्धन तथा उपचारका लागि स्थानीय जडिबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइनेछ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको सो मेलामा सरोकारवाला र इच्छुकलाई आएर अवलोकन गर्न पनि डा. नेपालले आग्रह गरेकी छन् । मेला बिहान ८ बजेदेखि ३ बजेसम्म आयोजना हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुनजन्य विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला …

प्रतिकृया दिनुहॊस