नाला खन्ने क्रममा पुरिएर तीन महिलाको मृत्युपछि कावासोती तनावग्रस्त

काठमाडौं । नाला खन्ने क्रममा पुरिएर तीन महिला मजदुरको ज्यान गएको घटनालाई लिएर अहिले नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र स्थानीयले नगर प्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नारावाजी गर्दै नगरपालिका र निजी निवासमा तोडफोड गरेका छन् ।

उनीहरुले नगरपालिकाको लापरवाहीले पुरिएर तीन महिलाको ज्यान गएको भन्दै नगर प्रमुख भुसालको राजीनामा माग्दै ढुङ्गामुढा र तोडफोड गरेका हुन् । नगरपालिका नजिकै जिल्ला प्रहरी कार्यालय रहे पनि घटनास्थलमा प्रहरी आउन ढिला हुँदा पालिकामा ठूलो क्षति पुगेको छ ।

स्थानीय र मृतकका आफन्तले नगर प्रमुख भुसालको घरमा पनि तोडफोड गरेका छन् । उनीहरुले हिजो राति पनि भुसालको घर घेराउ गरेका थिए । हिजो घर घेराउ गर्दै नारावाजी गरिरहेकाहरुलाई प्रहरीले तितरवितर पारे पनि शुक्रबार बिहानैदेखि उनीहरुले नगरपालिका कार्यालय र नगर प्रमुखको घरमा ढुङ्गामुढा गरेका हुन् ।

पीडित पक्ष वार्ता गर्न भनेर नगरपालिका गए पनि नगर प्रमुख भुसाल अनुपस्थित भएपछि पीडित थप आक्रोशित भएका छन् । नाला खन्ने क्रममा पुरिएर हिजो कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, सोही ठाउँकी २५ वर्षीया तानमाया गाहा र २३ वर्षीया चमेली दर्लामी मगरको मृत्यु भएको थियो । मृतक तीनै जनाको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

कावासोती फलफूलचोकदेखि पूर्वतर्फ ११ फिट गहिरो नाला राख्ने काम भइरहेको छ । उक्त नाला निर्माण गर्ने क्रममा डोजरले खन्ने र मजदुरले भुँइमा ढुङ्गा सोलिङको काम गरिरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा पुरिएर तीन महिला मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाले शहरी विकास मन्त्रालयको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको लागि श्रममूलक आयोजना सञ्चालन गर्ने शर्तमा प्राप्त सात करोड ४२ लाखमध्ये वडा नं. २ को ढललाई व्यवस्थापन गर्नका लागि ४२ लाख ६० हजार विनियोजन गरी उपभोक्ता समितिमार्फत काम गराएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कठिनाइहरूलाई नचिरी पार्टी स्थापित हुन सक्दैन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ४ मन्त्रीले सिंगो देशको ध्यान तानेको …

प्रतिकृया दिनुहॊस