काठमाडौंमा रुख, पोल, मठ, रेष्टुरेन्टजस्ता ठाउँबाट रङ्गीचङ्गी बत्ती हटाउन सिफारिस

काठमाडौं । सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लबजस्ता व्यावसायिक स्थानमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘सहरी बन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदल’ले सुझाव दिएको छ ।

सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई प्रतिवेदन बुझाउँदै सिफारिसका विषयमा जानकारी गराएको हो । गएको वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा सजावटलागि राखिएका बत्तीले जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनमा नकारात्मक असर पारेको विषय उठान भएपछि अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।

प्रतिवेदन बुझिसकेपछि उपप्रमुख डंगोलले भनिन्, ‘सहरमा झिलिमिली बत्ती राख्ने विषयमा निर्णय गर्न र थप वैज्ञानिक अध्ययन गर्न आधार तयार भएको छ । प्रतिवेदनको थप अध्ययन गरेर निर्णय गर्छौँ ।’

अध्ययन समितिलाई सजावटका लागि रुख, बिरुवासहितका संरचनामा बेरिएका बत्तीको गुणस्तर र प्रकृति, सवारी आवागमनमा यस्ता बत्तीले पार्ने असर, मानव दृष्टि (आँखा)मा असर, चराचुरुङ्गी र पर्यावरणमा पर्ने असर, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यताको अध्ययन विश्लेषण गर्ने कार्य क्षेत्र दिइएको थियो ।

अध्ययनबाट सवारी आवागमन, जनस्वास्थ्य र पर्यावरणमा असर देखिने भए सजावटको विकल्प, बत्ती हानिकारक छन् भने बत्तीको प्रकृति र गुणस्तर परिवर्तन गरेर राख्न मिल्छ कि हटाउनुपर्छ, सुझाव दिन समितिले जिम्मेवारी पाएको थियो । यसबमोजिम समितिले जीवशास्त्री, प्राणीशास्त्री, चराचुरुङ्गी विज्ञलाई सहभागी गराएर अध्ययन गरेको हो ।

अध्ययनले ७ बुँदामा सुझाव दिएको छ । त्यसको पहिलो बुँदामा रुख, खम्बा, निजी घर, पुराना संरचना, पार्क, पार्टी प्यालेस, रेस्टुरेन्ट, सांस्कृतिक सम्पदा, ढुङ्गेधाराजस्ता सार्वजनिक स्थलहरूमा राखिएका स्ट्रिप बत्ती, रोप बत्ती, रंगीन सजावटी बत्ती, एलईडी स्ट्रिङ बत्तीलाई जात्रा, चाडपर्व र विशेष अवसरबाहेक हटाउनुपर्छ सुझाव दिइएको छ ।

समितिको सदस्यमा उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका प्रमुख नवराज थापा, महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठ, सार्वजनिक निर्माण विभागका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेल थिए भने वातावरण इञ्जिनियर निशा कोइराला सदस्य सचिव हुन् । समितिले अध्ययनका क्रममा नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. इन्दूप्रसाद ढुङ्गेल, त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका जीवशास्त्री सहप्राध्यापक डा. हरिप्रसाद शर्मा र हिमालय नेचरका चराचुरुङ्गीविज्ञ सन्देश गुरुङसहितको टोलीमा सहभागी गराइएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा, प्रचण्ड सरकार लम्बिने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका …

प्रतिकृया दिनुहॊस