काठमाडौं । पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् । उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका मेयर न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
मेयर न्यौपानेले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ। मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीको रिटमाथि उच्च अदालत पोखराले निर्वाचन भएको २ वर्षपछि पुनःमतगणना गर्ने फैसला गरेको थियो ।
गत जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै असार २ गते पुनःमतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतलाई निर्देशन जारी गरेको थियो । तनहुँबाट शिलबन्दी गरेर राखिएको मतपत्र पोखरा ल्याएर मतगणना गर्ने तयारी थियो । तर, उच्चको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै उच्चको फैसला बदर गर्न माग गर्दै मेयर न्यौपाने बिहीबार सर्वोच्च पुगेका हुन् ।
२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मेयर न्यौपाने जोशीलाई पराजित गर्दै दोस्रो पटक व्यासको मेयर बनेका थिए । नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले धाँदली भएको भन्दै मतपरिणाम रद्ध गरेर पुनःमतगणना गर्न २०७९ जेठ १२ गते उच्चमा रिट हालेका थिए ।
प्रतिकृया दिनुहॊस