रियलले जित्यो १५औं पल्ट च्याम्पियन लिगको उपाधि

काठमाडौं । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा रियल म्याड्रिडले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । रियल म्याड्रिडको जितमा डानी कारभाजल र भिनिसियस जुनियरले एक-एक गोल गरे । कारभाजलले खेलको ७४औं र भिनिसियसले ८३औं मिनेटमा गोल गरेका हुन् ।

रियल युरोपेली च्याम्पियन भएको यो कीर्तिमानी १५औं पल्ट हो । प्रशिक्षकका रूपमा कार्लो एन्सेलोटीले पाँचौं पल्ट च्याम्पियन्स लिग जितेका छन् । रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो । १८ पटक च्याम्पियन्स लिगको फाइनल खेलेको रियल म्याड्रिड फाइनलमा पुगेर तीन पटक मात्र उपविजेता बनेको छ । सन् १९६२, १९६४ र १९८१ मा रियल म्याड्रिड फाइनलमा पुगेर हारेको थियो । त्यसयता फाइनलमा पुगेर रियल म्याड्रिड अहिलेसम्म पराजित भएको छैन ।

तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको डोर्टमण्ड भने दोस्रो पटक उपविजेता बनेको छ । यसअघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड पछिल्लो पटक २०१३ मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मोरक्को र अर्जेन्टिना खेल चलिरहँदा विवाद, २-१ ले हार्‍यो अर्जेन्टिना

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ । बुधबार …

प्रतिकृया दिनुहॊस