नेपालमा किन बढ्दैछ एकल परिवारको संख्या ?

काठमाडौं । नेपालमा एकल परिवारको संख्या बढ्दै गएको प्रतिवेदनले देखाएको छ । पछिल्ला वर्षहरुमा देशभर परिवारहरू संयुक्तबाट एकलमा टुक्रिने क्रम बढेको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार देशको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेकोमा पुरुष ४८.९८ प्रतिशत र महिला ५१.०२ प्रतिशत रहेका छन् । हाल ६०.०७ प्रतिशत एकल र ३९.९३ प्रतिशत संयुक्त परिवार रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । अघिल्लो जनगणना (विसं २०६८) को तुलनामा नेपालमा परिवारको संख्या बढेको पाइएको छ ।

एकल परिवारको संख्या बढ्दै जानु स्वाभाविक भएको त्रिभुवन विश्वविद्यालयस्थित जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राध्यापक योगेन्द्रबहादुर गुरुङले बताए । ‘त्यो भनेको परिवारहरू संयुक्तबाट एकलमा टुक्रिने क्रम बढेको छ,’ उनले भने, ‘जनसंख्या नै बढेर परिवार संख्या बढेको भने होइन ।’

उनकाअनुसार नेपालीहरू परम्परागत रूपमा संयुक्त परिवारमा बस्दै आएका देखिए पनि पछिल्लो दशकमा एकल परिवार बढ्दै जानुका विभिन्न कारण छन् । ‘धेरै चलायमान हुँदै गएपछि मानिसहरू संयुक्त परिवारबाट एकल परिवारतिर जान्छन्,’ उाले भने, ‘उदाहरणका लागि कोही गाउँ छोडेर काठमाडौं आएपछि यतै जागिर खायो, बिहे ग-यो र बालबच्चा पनि जन्मायो । एकल परिवार त्यहीँबाट शुरू भयो ।’

बसाइँसराइको प्रवृत्ति हेर्दा अवसरको खोजी, सेवा–सुविधामा पहुँचका निम्ति नेपालीहरू नयाँ ठाउँमा जाने तर पुरानो ठाउँ पूर्ण रूपमा नछोड्ने गरेका देखिन्छ । ‘आमाबुवाहरू पुरानै ठाउँमा बस्ने तर छोराबुहारी, नातिनातिना शहर वा तराई बस्ने प्रवृत्ति देखिएकोले एकल परिवार बढ्नु स्वाभाविक नै हो जस्तो लाग्छ,’ उनले थपे, ‘शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सुविधा बढी हुने ठाउँमा दुई पुस्ता पैतृकथलो छोडेर बस्ने गरेको देखियो ।’

तराई÷मधेशको तुलनामा हिमाली तथा पहाडी क्षेत्रमा एकल परिवारको संख्या धेरै बढेको जनगणना प्रतिवेदनले देखाएको छ । त्यसो हुनुमा रोजगारीका अवसर एवं सेवा-सुविधा नै प्रमुख कारण हुन् । ‘पहाडका परिवारमा बसाइँसराइ गर्ने प्रवृत्ति बढी छ । जलवायु परिवर्तन, विपद्, विकास पनि त्यससँग जोडिएका छन्,’ प्राध्यापक गुरुङ भन्छन्, ‘२०७२ सालको विनाशकारी भूकम्पयता सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लाबाट निकै बसाइँसराइ भएको पाइएको छ । बाढी-पहिरोले खेतीयोग्य जमिन नष्ट गरिदिएर, कतिपय ठाउँमा पानीको मुहान सुकेका कारण पनि मानिसहरू बसाइँ सरेका छन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चितवनमा हतियार देखाएर पसलबाट सुनचाँदी र नगद लुटपाट, चार जना पक्राउ

काठमाडौं । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । …

प्रतिकृया दिनुहॊस