इरानी राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटनास्थल फेला

काठमाडौं । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको क्षेत्र पत्ता लागेको जनाएको छ । टेलिभिजनले हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै सङ्केत नरहेको बताएको छ ।

रोयटर्सको समाचारमा पनि इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर पूर्ण रूपमा जलेको जनाइएको छ । ती अधिकारीले भने, ‘राष्ट्रपति चढेको हेलिकोप्टर पूर्ण रूपमा जलेको छ…दुर्भाग्यबस त्यसमा रहेका सबैको मृत्यु भएको ठानिएको छ ।’

इरानस्थित रेड क्रेसन्ट समाजका प्रमुखले पनि इरानी टेलिभिजनलाई दुर्घटना क्षेत्रको अवस्था राम्रो नभएको बताए । त्यस अघि इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर दुर्घटनामा परेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका थिए । इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले राष्ट्रपति र विदेशमन्त्री हेलिकोप्टरमा यात्रारत रहेको पुष्टि गरेका थिए ।

उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य व्यक्तिहरू पनि चढेका थिए । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकोप्टरले उडानका क्रममा कठिनाइको सामना गर्नु परेको थियो । त्यसपछि उक्त हेलिकोप्टरले ‘हार्ड ल्यान्डिङ’ गर्नुपरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अन्य दुई हेलिकोप्टर सुरक्षित
उक्त हेलिकोप्टर इरानी उच्च अधिकारीहरू लिएर उडिरहेका अन्य दुईसमेत गरी तीन हेलिकोप्टरसँगै उत्तरी इरानको यात्रामा थियो । मन्त्रीहरू र अन्य वरिष्ठ अधिकारी रहेका अन्य दुई हेलिकोप्टर भने सुरक्षित रूपमा गन्तव्यमा पुगेका छन् । इरानी आन्तरिक मामिलामन्त्रीका अनुसार उद्धार टोली तत्काल सम्भावित घटनास्थलतर्फ लागेको थियो ।

खराब मौसमका कारण घटनास्थलसम्म पुग्न कठिन भएको थियो । उक्त क्षेत्रमा ४० भन्दा बढी उद्धार टोली खटाइएको विवरणहरू आएका छन् । त्यसमा आपत्कालीन कार्यमा प्रयोग हुने ड्रोनहरूको पनि उपयोग गरिएको थियो ।

इरानीहरू स्तब्ध
यसअघि इरानीहरू उक्त घटनाबाट स्तब्ध भएको र राष्ट्रपतिसहित उनको टोलीका लागि प्रार्थना गरिरहेको विवरण आएका थिए । इरानका विभिन्न सहरका सार्वजनिक स्थलमा निस्किएर पनि मानिसहरूले प्रार्थना गरेका तस्बिरहरू सार्वजनिक भएका छन् ।

इरानी राष्ट्रपति इरान-अजरबैजान क्षेत्रबाट उत्तर पश्चिमी इरानमा रहेको तबरिज सहर जाँदै थिए । उनले अजरबैजानसँगको सीमा क्षेत्रमा बनेको एउटा बाँध उद्घाटन गरेका थिए। त्यस क्रममा उनी र अजेरी समकक्षीसँगै थिए । अजेरी राष्ट्रपतिले दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै आफ्नो देश सबैखाले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

सूचना पाउन सकस
इरानभित्र भएका यस्ता दुर्घटनाहरूबारे जानकारी प्राप्त गर्न निकै कठिनाइ हुने गरेको छ । बीबीसीले विभिन्न अर्ध-सरकारी समाचार निकायहरूले सार्वजनिक गरेका जानकारीमा निर्भर भएर रिपोर्टिङ गरिरहेको छ ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीइले हेलिकोप्टर दुर्घटनाको विवरण आएपछि इरानीहरूलाई चिन्ता नगर्न आग्रह गरेका छन् । उनले उक्त घटनाले देशको काममा कुनै बाधा नपर्ने आश्वासन दिँदै त्यसो भनेका हुन् । आईआरएनए समाचार संस्थाले दुर्घटनास्थलतर्फ खोजी गर्नका लागि ४० वटा टोली खटाइएको जनाएको थियो । त्यसमा तालिमप्राप्त कुकुरहरू र ड्रोनहरू पनि प्रयोग गरिएका थिए । –बीबीसीबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय हुँदा सुरुभयो विपत्ति : पहिरो र चट्याङमा परी ९ जनाको मृत्यु

काठमाडौं । देशभर मनसुन सक्रिय हुँदा चट्याङ, बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । …

प्रतिकृया दिनुहॊस