काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीस्थित कुमारी टोलमा एक युवकको ज्यान जाने गरी भएको झडप ‘ग्याङ फाइट’ मा पक्राउ पर्ने चार जना नाबालक रहेको खुलेको छ । ग्याङ फाइटमा शम्भु धिमालको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूको पहिचान सार्वजनिक गरेको छैन ।
चार नाबालकले मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको हत्या गरेका हुन् । मोरङ घर भएर गौशाला बस्ने २३ वर्षीय मनिष चौधरी र शम्भु धिमाल शनिवार साँझ करिब ८ बजेतिर काठमाडौँ–९ स्थित कुमारी टोलमा हिँड्दै गर्दा चार जनाको समूहले चक्कु प्रहार गरी हत्या गरेका थिए ।
मृतक धिमालको साथी २३ वर्षीय मनिष चौधरी घाइते भएका थिए । धिमालमाथि चक्कु प्रहार हुँदा गम्भीर घाइते भएका थिए । घटनालगतै प्रहरीले उनको उपचारको लागि सिनामंगलस्थित केएमसी अस्पताल लगेका थिए । अस्पताल पुयाएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
विपरीत दिशाबाट आएका चार युवकसँग सडकमा उनी ठोक्किएका थिए । चार जनामध्ये एउटाले सोधे, ‘किन ठेलेको, निहुँ खोजेको हो ?’ विवादमा अचानक समूहबाट एक जना नाबालकले धिमाललाई चक्कु प्रहार गरे । धिमालको पेट, छाती र ढाडमा चोट लागेको छ । प्रहरीका अनुसार उनीहरुले एक अर्कालाई चिनेका समेत थिएनन् । तीन जनाको समूह राति बडे पार्टी मनाएर फर्कदै थिए ।
बाटोमा उनीहरुले छ्याङ खाएका थिए । त्यही क्रममा १४ वर्षका अर्का साथी जोडिए । चार जनाको समूह जाँदै गर्दा बाटोमा धिमाल र चौधरीसँग ठोक्किएको थियो । प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवे नेतृत्वको टोलीले घटनास्थलबाट भाग्दै गरेको अवस्थामै ३ जना र पछि अर्का नाबालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।




