बलात्कार मुद्दामा सिद्धबाबालाई ३० दिनभित्र झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ लाई विराटनगर उच्च अदातलले उपस्थित हुन आदेश दिएको छ ।

न्यायाधीश नरेशकुमार चौधरी र श्रीधराकुमारी पुडासैनीको इजलासले प्रतिवादी गिरीलाई अदालतमा उपस्थित हुने गरी झिकाउने आदेश भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार शुक्रबार अदालतले पत्र काटिसकेको छ । गिरीले १५ दिनभित्र पत्र बुझ्नुपर्ने उनले बताएका छन् । ३० दिनभित्र गिरी अदालतमा उपस्थित हुनुपर्ने आदेश भएको उनले जानकारी दिए ।

यसअघि सुनसरी अदालतले आरोपित गिरीलाई सफाइ दिएको थियो । महिला अनुयायीमाथि बलात्कारको आरोप लागेका उनलाई जिल्ला अदालत सुनसरीले गत वर्ष भदौ २७ मा सफाइ दिएको थियो । अदालतले उनलाई दोस्रो पटक सफाइ दिएको हो । त्यसअघि उक्त मुद्दामा २०७७ साल मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई पहिलो पटक सफाइ दिएको थियो ।

तर उच्च अदालतले पुनः प्रमाण बुझी फैसला गर्न आदेश दिएर मुद्दा सुनसरी अदालतमा पठाएपछि न्यायाधीश कोइरालाको इजलासले २७ भदौ २०८० मा सफाइ दिएको थियो । अदालतमा गिरीको महिला अनुयायीसँगको अडियो संवादलाई प्रमाणको रुपमा पेश गरिएको थियो । तर मुख्य प्रमाणको रुपमा पेश भएको सो ‘अडियो रेकर्ड’ परीक्षण गर्ने व्यक्तिको योग्यता नै नपुगेको उल्लेख गर्दै गिरीलाई सफाइ दिने फैसला अदालत गरेको थियो ।

त्यसपछि सरकारी वकिलको कार्यालयले जिल्लाको फैसलाविरुद्ध उच्च अदालत गएको थियो । सिद्धबाबाका रुपमा चर्चित गिरीविरुद्ध २०७६ साल कार्तिक ४ गते महिला अनुयायीले जबरजस्ती गरेको दाबीसहित प्रहरीमा जोहरी दिएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारबाट बाहिरियो जसपा : उपप्रधानमन्त्री यादव र मन्त्री कार्कीले दिए राजीनामा

काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उनले सोमबार प्रधानमन्त्रीलाई …

प्रतिकृया दिनुहॊस