रविले भने- ‘सटर बन्द गर्न परे गर्छु तर, कुनै लुटेराको पैसाले पार्टी चलाउने छैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् ।

कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथि सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’

इलाम उपनिर्वाचनको पूर्व सन्ध्यामा रास्वपाले इलामको दउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेले त्यस्तो बताएका हुन् । रास्वपाका सभापति लामिछानेले भने, ‘पार्टीको सटर बन्द गर्न परे गर्छु तर कुनै लुटेराको पैसा र चन्दा लिएर पार्टी चलाउने छैन । पैसाको बलमा लोकतन्त्र किन्नेहरुलाई खबरदारी गर्न तपाईंहरुले बैशाख १५ मा घण्टीमा भोट हाल्नु पर्नेछ ।’

०८४ को निर्वाचनसम्म आफूहरुलाई पुराना शक्तिहरुले थिलथिलो बनाउने बताउँदै उनले भने, ‘०८४ सम्म हामीलाई थिलथिलो पार्नेछन् हेर्नु होला । जनताको पक्षमा काम गर्नेहरुलाई झुठा मुद्दा लाग्छन्, उनीहरुको विषयमा अनर्गल प्रचार गरिन्छ । तपाईंहरु त्यसले आत्तिनु पर्दैन ।’

नेपाली कांग्रेसले सहकारीको मुद्दा उठाएको बारे संकेत गर्दै उनले राजनीतिक षडयन्त्रमा आफूलाई फसाइएको बताए । त्यसैको फलस्वरुप आफ्नो पुत्ला समेत जलाइएको उनले बताए । उनले भने, ‘अहिले धेरै ठाउँमा मेरो पुत्ला जलाउन थालिएको छ, मैले पुत्ला जलाउने साथीहरुलाई अलिक राम्रो फोटो राखेर पुत्ला बनाउनु भनेको छु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वनमा डढेलो लगाउने ३९ वर्षीय अगन्दर पौडेल पक्राउ

काठमाडौं । कास्की प्रहरीले जङ्गलमा डढेलो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस