अर्को चुनाव नहुँदासम्म यही सरकार चल्छ : प्रधानमन्त्री प्रचण्ड (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा तत्काल कुनै पनि खालको राजनीतिक अस्थिरता नहुने बताएका छन् ।

मंगलबार नेपाल उद्योग परिसंघको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै दाहालले वर्तमान सरकारले पुरा समय काम गर्ने बताए । ‘अर्को चुनाव नहुँदासम्म सरकार चालिराख्छ, यसमा तपाईँहरूले तनाव लिइरहनु पर्ने आवश्यकता छैन’, उनले भने ।

दाहालले डेढ वर्षमा तीन पटक विश्वासको मत लिनु परे पनि देशको प्रधानमन्त्री आफू नै भएको उनले बताए । यस्तो अवस्थामा राजनीतिक अस्थिरताको कुरा गर्नु उचित नहुने उनको भनाइ छ । ‘१५ महिनामा तीन पटक विश्वासको मत त लिए, तर प्रधानमन्त्री मैनै छु भन्ने कुरा त यहाँहरूले देखिराख्नु भएकै छ’, उनदे भने ।

उनले कानुनमा सुधार समृद्धिको आधार भन्ने कुरामा आफू प्रतिबद्ध रहेको बताए । यसको लागि लगानी सम्मेलन अगाडि नै समुच्च रूपमा कानुन संशोधन गरी लगानीको वातावरण बनाउने उनले बचन दिए । व्यवसायीलाई सुरक्षाको वातावरण सरकार बनाउने उनको भनाई छ ।

निजी क्षेत्रको समस्या भनेको अर्थतन्त्रको समस्या भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको समस्या देशकै समस्या भएको बताए । अहिले बिस्तारै अर्थतन्त्रमा सुधार हुँदै आएको भनाई छ ।

१६ घण्टे लोडसेडिङ्गले उद्योगीहरू मर्माहत
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुमा दैनिक १६ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

पछिल्ला केही महिनादेखि उद्योगहरुमा अघोषित लोडसेडिङ गरिएको भन्दै निजी क्षेत्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सामुन्ने उक्त असन्तुष्टि पोखेको हो । उनले भने, ‘पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङ्गले उद्योगीहरु थप मर्माहत भएका छन् । एकातिर विद्युत खपत बढाउन नेपाल विद्युत प्राधिकरण लागिरहेको र अर्कोतर्फ धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा १६ घण्टासम्म लोडसेडिङ्ग गराउने काम भइरहेको छ ।’

उनले सरकारको यो कस्तो नीति हो ? भन्दै प्रश्न समेत गरेका छन् । विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महंगो पर्ने भनिरहेको भन्दै केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भए पनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने उनको जिकिर थियो ।

उनले महँगो दरमा आयात गरेर भए पनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन माग गरे । समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको उनको भनाइ थियो । ‘समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको छ । नियमित विद्युतको आपूर्ति उद्योगहरुको लागि लाइफलाइन हो । तर पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङ्गले थप मर्माहत बनाएको छ’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाममा चुनाव जित्न सकिएन, सिक्न सकियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष …

प्रतिकृया दिनुहॊस