नागढुंगा-नौबिसे मुख्य सुरुङ मार्ग वारपार, प्रधानमन्त्रीले गरे उदघाटन

काठमाडौँ । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्नका लागि स्वीच थिचेका थिए । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौँ दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो ।

धादिङको सिस्नेखोला र काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो । यस्तै सङ्घीय सांसद एवं प्रदेश सांसदहरुको उपस्थिति थियो ।

नागढुङ्गाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई उक्त सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ । आज छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।

नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरका अनुसार एक विशेष समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । सो सुरुङमार्गको कूल लम्बाई दुई हजार छ सय ८८ मिटर छ । यसअघि नै आपतकालीनरुपमा प्रयोग गरिने सुरुङ भने गत साउनमा नै ब्रेक थ्रु गरिसकिएको छ ।

सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ । आयोजनाको कूल लागत झण्डै रु २२ अर्ब बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस