काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आज को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरी अनुमोदन गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।
अवरुद्ध गर्ने कांग्रेसको संकेत
सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहितको शीर्ष चार दलको बैठक बिना निष्कर्ष टुंगिएको थियो । बैठकपछि बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि लगाइएको सहकारी प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान यथावत् रहेको बताएका थिए ।
उनले आफूहरूको अडान यथावत् रहेको र त्यसको सुनुवाइ नभए संसद् अवरुद्ध भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिए । ‘सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत हुँदैछ । सरकार यत्तिका नागरिकहरूको बिचल्ली भएको छ । त्यसका प्रति संवेदनशील गम्भीर हुन सकेको छैन’ उनले भने, ‘हामीले न्यूनतम माग गर्दा संसदीय समिति माग्दा पनि सरकार मान्न तयार नभएको हुनाले अब संसद्का कुनै बैठक अथवा कुनैपनि कामकारबाहीहरू अवरुद्ध भए भने त्यसको जिम्मेवार सरकारले लिनुपर्छ । सरकार कसरी प्रस्तुत हुन्छ, त्यसमा भर पर्छ ।’




