काठमाडाैं । वैदेशिक रोजगारीका लागि कामदार आपूर्ति गर्दै आएका १२ राष्ट्रहरूको काठमाडौंमा जारी सम्मलेन शुक्रबार सकिँदैछ । वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा संस्था कोलम्बो प्रोसेसको सम्मेलन काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै आज सकिने भएको हो ।
पहिलो दिन बिहीबार बसेको प्रोसेसको सचिवस्तरीय बैठकले तयार पारेको घोषणापत्रलाई अन्तिम रूप दिन आज १२ राष्ट्रको मन्त्रीस्तरीय बैठक बस्दैछ । रोजगारीका लागि तेस्रो देशमा श्रमिक पठाउँदै आएका सदस्य राष्ट्रका उच्च सरकारी अधिकारी सहभागिता रहेको बिहीबारकाे बैठकमा सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल भएकाे छ । सुरक्षित आप्रवासनसम्बन्धी विद्यमान चुनौती सम्बोधन गर्न आवश्यक रणनीतिक साझेदारी र सामूहिक प्रयत्नको सहजीकरण गर्ने सम्बन्धमा बैठकले महत्वपूर्ण अवसर प्रदान गर्ने रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
कोलम्बो प्रोसेसका सदस्य राष्ट्रले सहमति गरेका चार अतिरिक्त विषयगत क्षेत्र कन्सुलर सहायता, आप्रवासनसँग सम्बन्धित दिगो विकास लक्ष्यको कार्यान्वयन, आप्रवासी कामदारको स्वास्थ्य र महिला आप्रवासी कामदारको ज्याला समान गर्ने सन्दर्भमा समेत छलफल हुने मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहॊस