महरालाई हाजिर जमानीमा छाड्ने तयारी

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाड्ने तयारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिलसँग उनलाई हाजिर जमानीमा रिहा गर्न सहमति मागेको छ ।

स्वास्थ्य अवस्थाका कारण उनलाई हाजिर जमानीमा छाड्न लागिएको बताइएको छ । जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले सो मुद्दा हेरिरहेका छन् । कटुवालले स्वीकृति दिएमा महरा हाजिर जमानीमा छुट्छन् ।

भेपमा भएको सुन तस्करी प्रकरणमा गत सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

भेपमा लुकाएर तस्करी गरिएको सुन प्रकरणमा महराको संलग्नता देखिएको यसअघिको सीआईबीको प्रतिवेदनमा उल्लेख थियो । त्यस्तै सुन प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले पनि उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

२०७९ पुस १० गते फ्लाई दुबईबाट चिनियाँ नागरिक ली हानसङले सुन भरेर ल्याएका ७ सय ३० वटा विद्युतीय चुरोट भेप भन्सारले जफत गरेको थियो । सोही प्रकरणमा ली हानसङ कृष्णबहादुर महरासँग ११ पटकसम्म फोन सम्पर्क भएको देखिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री