काठमाडाैं । विभिन्न कम्पनीहरुले ३ अर्ब रुपैयाँ बढीको साधारण सेयर (आइपिओ) निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार सेयर निश्कासनको पाइपलाइनमा सबैभन्दा धेरै जलविद्युत कम्पनी छन् । त्यस्तै पाँच माइक्रोफाइनान्स, एक मर्चेन्ट बैंक र एक लगानी कम्पनीले साधारण सेयर निश्कासन गर्नेछन् ।
सेयर निश्कासन गर्न लागेका ति कम्पनीहरुको विस्तृत रुपमा अध्ययन भइरहेको र कागजात तथा अन्य प्रक्रिया पुरा गरेकालाई स्वीकृति दिइँदै जाने बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । चौतारी लघुवित्तले १८ करोड रुपैयाँको सेयर निश्कासनका लागि बोर्डबाट हालै स्वीकृति पाएको छ। सर्वसाधारणका लागि यो सेयर जारी हुनेछ । आशा लघुवित्तले ६ करोड रुपैयाँको, जनसेवी लघुवित्तले ४ करोड २० लाख रुपैयाँको साधारण सेयर निश्कासनका लागि आवेदन दिएका छन् ।
स्पर्श लघुवित्त र स्वाभिमान लघुवित्तले क्रमशः २ करोड ४० लाख र १ करोड ८० लाख रुपैयाँको सेयर निश्कासन गर्दैछन् । सिइडिबी हाइड्रो फण्डले २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ । सयपत्री हाइड्रोपावरले तीन करोड रुपैयाँको, शुभम् पावरले पाँच करोड ८० लाख रुपैयाँको, रुरु जलविद्युत् परियोजनाले चार करोड सात लाख रुपैयाँको र माउन्टेन हाइड्रोले १८ करोड १६ लाख रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्न स्वीकृति मागेका छन् ।
बोर्डका अनुसार पाँचथर पावर कम्पनीले १९ करोड २५ लाख रुपैयाँको सेयर निश्कासनका लागि आवेदन दिएको छ । ग्रीनलाइफ हाइइड्रोपावरले १८ करोड रुपैयाँको, मैलुङखोला जलविद्युत् कम्पनीले ७ करोड ३६ लाख रुपैयाँको सेयर निश्कासन गर्न आवेदन मागेका छन् । युनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँको, शिवश्री हाइड्रोपावरले १४ करोड ७६ लाख ४० लाख रुपैयाँ र घलेम्दी हाइड्रोपावरले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको सेयर निश्कासन गर्ने छन् ।
आवेदन दिने अन्यमा गर्ज्याङ उपत्यका हाइड्रोपावर, लघिङ बुद्ध पावर र युनियन हाइडेल कम्पनी छन् । ति कम्पनीले क्रमशः दुई करोड, नौ करोड ७८ लाख र पाँच करोड ५० लाख रुपैयाँको साधारण शेयर बिक्री गर्नेछन् । अनुमतिको प्रक्रियामा रहेको मर्चेन्ट बैंकमा सिबिआइएल क्यापिटल छ । सो कम्पनीले तीन करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्नेछ । बोर्डका अनुसार यस आर्थिक वर्षको हालसम्म विभिन्न कम्पनीलाई एक अर्ब ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्न स्वीकृत दिइएको छ ।
यसैबीच चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कात्तिक २८ गतेदेखि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्दैछ । सो कम्पनीको सेयर कर्मचारी संचयकोषमा रकम जम्मा गरेका र ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि मात्रै खुल्न लागेको हो ।
प्रतिकृया दिनुहॊस