काठमाडौं । कृषि विकास बैंकले नारी दिवसको अवसरमा नेपाली महिला फुटबल टिमलाई आर्थिक सहयोग गरेको छ । बैंकले नेपाली महिला फुटबल टिमलाई प्रोत्साहनस्वरूप ६ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
हालै साउदी अरबमा सम्पन्न वेस्ट एशियन फुटबल फेडेरेशन (वाफ) वुमेन्स प्रतियोगितामा नेपाली महिला फुटबल टिम उपविजेता बनेको थियो । खेलमा सहभागी खेलाडी, प्रशिक्षक लगायत टिममा संलग्न सदस्यहरूलाई प्रोत्साहन गर्न संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट अखिल नेपाल फुटबल संघ (एन्फा)मार्फत नगद रकम प्रदान गरिएको हो ।
२३ जना खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ, मुख्य प्रशिक्षकलाई १५ हजार रुपैयाँ, प्रशिक्षक ३ जना, टिम म्यानेजर, फिजियोथेरापिस्ट, एन्फा, हेड अफ डेलिगेट्स र अफिसियललाई १०/१० हजार रुपैयाँ प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकका सिईओ गोविन्द गुरुङले महिला खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए । ‘म प्रायजसो नेपालका सबै खेल हेर्ने गर्छु,’ उनले भने, ‘यसपटक नेपाली महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्यो । मैले हेरेका खेलहरूमा यो जत्तिको उत्सुक खेल अहिलेसम्म भएको छैन ।’
प्रतिकृया दिनुहॊस