राजनीतिमा नयाँ तरंग

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा छलफल गर्दैछन् । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता छ ।

सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । यद्यपि बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड अहिलेका मन्त्रीहरुको कार्यसम्पादनमा असन्तुष्ट रहेकाले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने पक्षमा छन् । यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएको बताइन्छ ।

एमाले सचिवालय बैठक जारी
नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिरहेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आइतरबार अबेर रातिसम्म छलफल भएको थियो ।

चार दलबीच संक्रमणकालीन न्याय, राष्ट्रिय सभाको अध्यक्षलगायतका विषयमा छलफल भएको बुझिएको छ । त्यही छलफलमा भएको कुराकानी जानकारी गराउन अध्यक्ष ओलीले सचिवालयको बैठक डाकेको नेताहरूले बताएका छन् ।

सत्तारूढ कांग्रेस र माओवादीबीच अविश्वास बढेको भने लामो समय भइसकेको छ । अर्थमन्त्री प्रकाशशरण महतमाथि कार्यक्षमतामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचारमा प्रश्न उठेको भन्दै समग्र मन्त्रिपरिषद् पुनगर्ठन गर्न खोज्दा कांग्रेस सभापति देउवाले अवरोध गरेको भन्दै प्रधानमन्त्री दाहालले कांग्रेसकै पदाधिकारीसँग असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

यता प्रतिपक्षी सांसदहरूले विवादास्पद मन्त्रीको राजीनामा मागेर संसद्मा नाराबाजी गर्दै आएका छन् । सभामुख देवराज घिमिरेले सोमबार संसद् बैठकमा विपक्षीहरूको मागमा जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरिसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस