काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा एक सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ । काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गरी समाचार हुबहु चोरी गरी सार्ने (कपी एण्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो ।
कारबाहीमा परेकामध्ये १४३ सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रुपमा दर्ता/सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ । आगामी दिनमा बिनाअनुमति हुबहु प्रकाशन नगर्न नगराउन ध्यानाकर्षण गराउने र पुनःत्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको हो ।
प्रतिकृया दिनुहॊस