कांग्रेस महासमिति बैठकमा सहभागिताको विवाद मिल्यो

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागिताको विवाद मिलेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिमा सहभागिताको विवाद मिलाइएको हो ।

महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेका संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा महासमिति बैठकमा सहभागी गराउने निर्णय गरिएको छ ।

महासमिति बैठकमा प्रतिनिधि विवाद भएका बारा क्षेत्र नम्बर–३, पर्सा क्षेत्र नम्बर–१, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नम्बर–१, दोलखा, ओखलढुंगा, काठमाडौं क्षेत्र नम्बर–५, दाङ क्षेत्र नम्बर–३, कञ्चनपुर क्षेत्र नम्बर–१, बागलुङ क्षेत्र नम्बर–२, सिन्धुली क्षेत्र नम्बर–२ का प्रतिनिधिलाई आमन्त्रित रुपमा सहभागी गराइने भएको छ ।
यस्तै, नेतृत्व परिवर्तन भएका भ्रातृसंघ र शुभेच्छुक संस्थाका अध्यक्षसहित तीनजनालाई महासमिति सदस्यका रूपमा सहभागी गराउने निर्णय कांग्रेसले गरेको छ ।

ति भ्रातृसंस्थाहरूमा नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल मुस्लिम संघ रहेका छन् ।

शुभेच्छुक संस्थाहरूमा नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, सेन्टर फर डेमोर्क्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियन रहेका छन् । बैठकले नेपाली कांग्रेसको १४औँ महाधिवेशनपश्चात् अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गरेको छ ।

ललितपुरको गोदावारीमा सोमबार उद्घाटन गरिएको महासमिति बैठकमा आजदेखि बन्दसत्र हुदै छ र बैठकमा आज उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धि, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

यी प्रतिवेदनमाथि आजैदेखि दुई समुह बनाएर छलफल सुरु गरिने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चितवन दुर्घटनाका २२ घाइतेको परिचय खुल्यो (नामावलीसहित)

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकमा चार वटा गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने …

प्रतिकृया दिनुहॊस