पशुपतिनाथमा हिन्दु, बौद्ध, किराँत विधिअनुसार विश्वशान्ति महायज्ञ

काठमाडौं । हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देशसहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ ।

शिवरात्रिको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लम आदि हिन्दु, बौद्ध, किराँत ३ वटै धर्म विधिअनुसार पितृहरूको उद्धारको कामनासहित पाठपूजा गरिने कार्डमा उल्लेख छ । साथै प्रवचन, दैनिकहवन, रासलिला, भजनकीर्तन, ताण्डव नृत्य, धामीझाँक्री पनि प्रदर्शन गरिने भएको छ । महायज्ञमा हिन्दु, बौद्ध र किराँत ३ वटै धर्मका धेरै गुरुहरू एक सातासम्मै उपस्थित रहने छन् ।

हिन्दु, बौद्ध, किराँत एकताको सन्देश सहित यो महायज्ञको आयोजना गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनको अध्यक्ष खगेन्द्र पोख्रेल बताउँछन् । “हाम्रो देश नेपाल संस्कृति र प्रकृतिमा विश्वमै धनी देश हो । बहुलजाती, बहु भाषा, बहु धर्म, बहु संस्कृत भएको हाम्रो देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता आजको आवश्यकता रहेको छ ।” अहिले धर्म धर्म बिच दुरी बढ्दै गइरहेको बेला यो महायज्ञले धार्मिक एकतालाई अझ मजवुत बनाई एकअर्काे धर्मको सम्मान, सद्भाव र एकता कायम राख्न सहयोग गर्ने उनले बताए । यो विश्व शान्ति महायज्ञ धार्मिक रुपमामात्रै नभई राष्ट्रिय र विश्वव्यापी रूपमै आवश्यक र महत्त्व रहेको उनको भनाई छ । महायज्ञको लागिपूर्व युवराज्ञी हिमानी शाहलाई समेत निमन्त्रणा दिइसकेको र अन्य विशेष व्यक्तिहरूको उपस्थिति रहने पोख्रेल बताउँछन् ।

यस महायज्ञलाई शिवसेना नेपालले विशेष साथ दिएको छ । नेपालबाट युवाहरू दैनिक विदेश पलायन भईरहेको समयमा केही युवाहरूले यस्तो विशेष कार्यक्रम आयोजना गर्न लागेको देखेर आफूले साथ दिएको शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत (अनिलबाबा) बताउँछन् । यो महायज्ञ विश्व र नेपालको सन्दर्भमा आजको समयमा अति नै आवश्यक रहेको छ । यसले धार्मिक सद्भाव, सहिष्णुता र एकतालाई बचाइराख्ने मात्रै नभई विश्वमै राष्ट्रिय गौरव बढाउने भएकाले यस्तो कार्यक्रमलाई नेपाल सरकारले नै आयोजना र सहयोग गर्नुपर्ने बताए। यो पवित्र र महत्वपूर्ण कार्यक्रममा सबैले सहयोग गरेर साथ दिनुपर्ने उनको भनाई छ ।

विश्व शान्ति महायज्ञ व्यवस्थापन समितिको अध्यक्षमा सिर्जना कार्की, सचिवमा सन्देश श्रेष्ठ, सहसचिवमा नितु घिमिरे र कोषाध्यक्षमा खेम खरेल रहेका छन् । गत वर्षको भन्दा यो वर्षको कार्यक्रम भव्य र बृहत् हुने कोषाध्यक्ष खरेल बताउँछन् । कार्यक्रमको व्यवस्थापनमा कमजोरी नहोस् भनेर हामीले नयाँ कार्यसमिति नै गठन गरेर लागि परेका छौँ । स्वयंसेवकहरू नै तीन दर्जनभन्दा बढी उपस्थित रहने उनी बताउँछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विमान सम्पर्कविहीनको हल्ला फैलाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ : तारा एयर

काठमाडौँ । तारा एअरले गलत र भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ । एअरले …

प्रतिकृया दिनुहॊस