कोटेश्वर क्याम्पसको ३४ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । जडिबुटीस्थित रोयल जडिबुटी व्याङ्क्वेटमा बुधबार आयोजना गरिएको क्याम्पसको वार्षिकोत्सव कार्यक्रमको त्रिभुवन विश्वविद्यालयका उपकुपति प्रा. शिवलाल भुसालले सरस्वतीको प्रतिमामा माल्यार्पण गरेर सुभारम्भ गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै त्रिविका उपकुलपति प्रा।भुसालले शिक्षाको गुणस्तर उकास्न सामुदायिक क्याम्पसहरुको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा कोटेश्वर क्याम्पसको योगदान प्रशंसनिय रहेको बताए । त्रिभुवन विद्यालयको सम्बन्ध जनस्तरसम्म जोड्ने काममा कोटेश्वर क्याम्पस लगायतका सामुदायिक क्याम्पसहरुले गरेको योगदानको स्मरण गर्दै भुसालले हरेक क्याम्पसहरुले अब संख्यात्मक भन्दा गुणात्मक शिक्षामा जोड दिनु पर्ने आवश्यकता रहेको बताए ।

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चता तथा प्रत्यायन (क्यू.ए.ए.) प्रमाणिकरण हुन सफल कोटेश्वर क्याम्पसले माग गरेको अवस्थामा बिबिए लगायत जुनसुकै नयाँ कार्यक्रम दिन विश्वविद्यालय तयार रहेको प्रा। भुसालले जानकारी दिए । कार्यक्रममा क्याम्पस प्रमुख गोबिन्दबहादुर कार्कीले कोटेश्वर क्याम्पसमा देशका ७७ वटै जिल्लाका विद्यार्थी पढ्न आउने गरेको तथ्यांक प्रस्तुत गर्दै क्याम्पसले अवको ध्यान गुणस्तरीय शिक्षामा मात्र केन्द्रित गरेको बताए । क्यू.ए.ए. प्राप्त गरेपछि कोटेश्वर क्याम्पस अर्को चरणमा प्रवेश गरेको दावी गर्दै कार्कीले अल्पकालित, मध्यकालिन र दीर्घकालिन योजनाका साथ गुास्तर सुधारमा क्याम्पस अगाडि बढ्ने बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपालले पढ्नै लागि भनेर देशबाट हजारौ बिद्यार्थी विदेश जाने गरेको स्मरण गर्दै स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि पाठ्यक्रममा परिवर्तन हुनु पर्ने आवश्यकतामा जोड दिए । पब्लिक क्याम्पस प्राध्यापक संघ, कोटेश्वर क्याम्पस इकाईका अध्यक्ष सुरेश पोखरेलले क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुले गुणस्तरलाई ध्यान दिएर पठनपाठन गराईरहेको जानकारी दिए । नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष सत्रुघ्नप्रसाद गुप्ताले कोटेश्वर क्याम्पसले अब छुट्टै विश्वविद्यालय स्थापना गर्ने हैसियत राख्नु पर्ने आवश्यकता औल्याए ।

स्वतन्त्र विद्यार्थी युनियन कोटेश्वर क्याम्पसका सभापति सञ्जय बुढाथोकीले अभिभावक, शिक्षक र विद्यार्थीको एउँटै साझा उद्देश्य भनेकै गुणस्तरीय शिक्षा रहेकाले सबैको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा गायक प्रकाश तिमिल्सिना र हास्यकलाकार राजा राजेन्द्र तथा विद्यार्थीहरुले विभिन्न नृत्य एवं गीत संगीतका माध्यमबाट मनोरन्जन प्रदान गरेका थिए । समारोहमा २० वर्ष भन्दा बढी समय क्याम्पसमा अध्यापन गरेका प्राध्यापक रेसम पौडेललाई दीर्घ सेवा सम्मान र विद्यावारिधि पुरा गरेका डा. भरत राई र विनोद लिड्देनलाई सम्मान गरिएको थियो ।

खेलकुदमा बिजयी विद्यार्थीहरु र विभिन्न परीक्षामा उत्कृष्ठ नतिजा हासिल गरेका विद्यार्थीहरु खुशी पाख्रिन, पुजा पहाडी, विपना थापा लगायतका विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । देशभरिकै सामुदायिक क्याम्पसहरुमध्ये उत्कृष्ठ क्याम्पसको रुपमा चिनिएको कोटेश्वर क्याम्पसले न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । यो क्याम्पसमा ३५ सय विद्यार्थी अध्ययनरत छन् । यहाँ प्लस टूदेखि स्नातकोत्तर तहसम्मको पठनपाठन हुँदैआइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अमेरिकी सहयोगमा २१ मिलियन डलरको खाद्य सुरक्षा परियोजना

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि दुई …

प्रतिकृया दिनुहॊस