काठमाडौं । डीस होम एक्सन स्पोर्ट्स एचडी वानले भोलि बिहीबारदेखि सुरु हुन लागेको आईसीसी लिग टूअन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रसारण गरेको यस टेलिभिजनले लिग २ का सबै ६ खेलको प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । त्यस्तै, एक्सन स्पोर्ट्सको युट्युब र डिसहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुने जानकारी डिस होम एक्सन स्पोर्ट्स एचडी वानले दिएको छ ।
नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरू फेब्रुअरी १५ बाट सुरु भएका छन् ।
टीयू मैदानमा हुने लिगको पहिलो खेल फेुब्रअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ । फेब्रुअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फेब्रअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ मा नेपाल र नामिबिया, फेब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स तथा फेब्रअरी २५ मा छैटौँ तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ । लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स र अमेरिका छन् । लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् ।
खेल बिहान सवा ९ बजेदेखि सुरु हुनेछ । तीन वर्षसम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्वकप छनोट खेल्ने पाउनेछ । पुछारका ४ टोलीले भने प्ले अफ खेल्नुपर्ने हुन्छ ।




