काठमाडौं । काभ्रेको पाँचखालमा आइचर गाडीमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । अनियन्त्रित भएको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको आइचरमा ठोक्किँदा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका ७ का-२८ वर्षीय मुरारी कार्कीको मृत्यु भएको हो ।
मंगलबार दिउँसो पाँचखाल नगरपालिका-८ पचास किलोस्थित अरनिको राजमार्गमा दोलालघाटबाट जिरो किलोतर्फ आउँदै गरेको बा प्र ०२-०३४ प ३३२१ मोटरसाइकल विपरीत दिशाबाट आएको बा३ ख ७२०४ नम्बरको आइचर गाडीमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार इन्द्रवतीकै २७ वर्षीय राजन दंगाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मंगलबार साँझ धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । घाइते दंगालको धुलिखेलमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनी खतरामुक्त छन् । तीव्र गतिमा रहेको मोटरसाइकल आफैँ अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको गाडीमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।
दुर्घटनापछि प्रहरीले दुवै सवारी साधन र आइचरका गाडीका चालक काभ्रेको भुम्लु गाउँपालिका-४ का २४ वर्षीय पूर्णबहादुरलाई नियन्त्रणमा लिएको छ।




