आज शहीद दिवस : सहिदको संख्या १४ हजार ६८०

काठमाडौं । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नुभएका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आइएको छ । वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो ।

निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा विभिन्न गैरसरकारी सङ्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ पनि मनाइँदै आएको छ । विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई शहीद दिवसका रुपमा मनाइएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।

सहिदको संख्या १४ हजार ६८०
मुलुकमा सहिदको सङ्ख्या १४ हजारभन्दा बढी छ । गृह मन्त्रालयका अनुसार मन्त्रीपरिषद्ले सहिदको सूचीमा १४ हजार ६८० जनाको नाम निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये ११ हजार ४१९ जनाको नाम राजपत्रमा छापिइसकेको छ भने तीन हजार २६१ जनाको नाम प्रकाशित हुन बाँकी छ ।

पछिल्लो समय भने सानासाना घटनामा वा दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाईसमेत राज्यले शहीद घोषणा गर्न थालेपछि राज्यका लागि बलिदानी दिएका शहीदको अपमान भएको भन्दै दिवसको सान्दर्भिकतामाथि नै प्रश्न गर्न थालिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after