काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई सरापेर राजनीति गर्ने दिन सकिएको बताएका छन् ।
उनले अब राजालाई गाली गर्ने होइन गणतन्त्रको डेढ दशकमा देशले राष्ट्रियता, सुशासन, विकास, सेवा प्रवाह र रोजगारी जस्ता विषयमा के कस्ता उपलब्धिहरू प्राप्त गर्न सक्यो त्यो देखाउन सक्नु पर्यो भन्दै प्रश्न तेर्साएका छन् ।
मौका मिले त्यही राजा ठिक हुने नमिले बेठिक हुने प्रवृत्ति दल र नेतामा रहेको उनको बुझाई छ । ‘राजा ठिक थिएनन् त, अनि त्यही राजालाई लाइन लागेर दाम चढाउन किन गएको ? उनले प्रश्न गरेका छन् ।
दलहरूले आफ्नो कमजोरी छोप्न राजालाई दोष दिन खोजेको उनको आरोप छ । ‘जहिले दरबार हत्याकाण्डको विषय तेर्स्याएर राजालाई बदनाम गर्न र राजाप्रति घृणा पैदा गर्न खोज्नेहरूले आफ्नो शासनको यो लामो समयमा राजालाई दोषी प्रमाणित गर्न किन नसकेको ? सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन्, ‘जनतालाई सधैँ मूर्ख बनाउन सकिन्न भन्ने समयमै बुझौँ ! लिङदेनले दरबार हत्याकाण्डमा आफ्नो प्रियजन गुमाएर बाँचेका दर्जनौँ जीवितहरू छन् उनीहरूलाई किन नसोधेको ? भन्ने प्रश्न पनि उठाएका छन् ।
प्रतिकृया दिनुहॊस