पत्रकार सेजुवालको ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

काठमाडौं । नेपाली पत्रकारिताको अभ्यासका क्रममा हुने कमजोरीलाई मिहीन ढंगले केलाएर प्रस्तुत गरिएको अनुसन्धानमूलक पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ । खोज पत्रकारका रुपमा परिचित कलेन्द्र सेजुवालले लेखेको उक्त पुस्तक शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, वरिष्ठ पत्रकार किशोर नेपाललगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तकमाथि टिप्पणी गर्दै पुस्तक विमोचन कार्यक्रमका सहभागीले अखबारी पत्रकारिताको पहिलो पृष्ठमा हुने कमजोरीलाई पुस्तकले विषयवस्तुका आधार बनाएको बताएका छन् । खोज पत्रकारितामा सक्रिय सेजुवालको उक्त पुस्तक पत्रकारिता क्षेत्रमा अर्को इँटा थपिएको विज्ञहरुको भनाइ थियो ।

पुस्तकको केन्द्रमा सुर्खेतबाट प्रकाशित पत्रिकाहरुका फ्रन्ट पेज (पहिलो पृष्ठ) समावेश गरिएका छन् । साथै एफएम रेडियो र टेलिभिजनका प्रमुख, प्रदेश सीमांकन आन्दोलनमा सुर्खेतका सञ्चारमाध्यमको भूमिकालगायत विषयवस्तु समेटिएका लेखक सेजुवालले बताए ।

सांसद कान्तिका सेजुवालले फल्स फ्रन्ट पेज समग्र सञ्चारमाध्यमको समीक्षात्मक प्रतिवेदन रहेको भन्दै यसले पत्रकारिता क्षेत्रमा देखिएका कमीकमजोरी सुधारेर उच्च व्यावसायिक अभ्यासका निम्ति मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रको उच्च व्यावसायिक अभ्यासमा रहेका कमजोरीलाई सुधार्न पुस्तक उपयोगी हुने बताए । उनले देश र समाजको ऐनाका रुपमा रहेको पत्रकारिताको धारलाई बदल्दै सकारात्मक दृष्टिकोणबाट पेसागत इमान्दारी निर्वाह गर्नु आजको आवश्यकता रहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष वि​पुल पोखरेलले पत्रकारिता क्षेत्रका कमीकमजोरीलाई पुस्तकमार्फत सूक्ष्म ढंगले उठान गरिएकाले यो पुस्तक पत्रकारिता क्षेत्रका विद्यार्थीका लागि उपयोगी सामग्री हुने विश्वास व्यक्त गरे । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता क्षेत्रका लागि पुस्तक निकै उपयोगी हुने धारणा राखे ।

महासंघका पूर्वअध्यक्ष किशोर नेपालले ‘सोसल मिडिया’का कारण आजको पत्रकारितामा चुनौती थपिएको, पत्रकार स्वयं कामप्रति सक्रिय नभएको भन्दै पत्रकारिताको व्यावसायिक मर्म र भावनालाई जीवित राख्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले नेपाली पत्रकारितामा सच्चिन चाहनेका लागि पुस्तक प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे । महासंघका अर्का पूर्वअध्यक्ष महेन्द्र विष्टले पत्रकारिताको पुरानो अभ्यासलाई समीक्षा गरेर समयसापेक्ष बनाउन पुस्तकले सहयोग गर्ने बताए ।

पत्रकार निर्मला शर्माले पत्रकारिताका आधारभूत सिद्धान्त र उच्च व्यावसायिक अभ्यासमा देखिएका कमजोरी सुधार्न तथा यस क्षेत्रका अध्येताका लागि पुस्तक उपयोगी बन्ने विश्वास व्यक्त गरिन् । पुस्तकका लेखक सेजुवालले पत्रकारिताको अभ्यासका क्रममा आफूले भोगेका, देखेका विषयवस्तुलाई सजीव ढंगले प्रस्तुत गरिएको उल्लेख गरे ।

प्रेस फ्रिडम मिडिया प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य पाँच सय रहेको छ । पुस्तक बिक्रीबापत भएको आम्दानीको ५० प्रतिशत रकम खोज पत्रकारितामा हौसला प्रदान गर्नका लागि प्रयोग गरिने लेखक सेजुवालले जानकारी दिए । सेजुवाल हाल नेपाल पत्रकार महासंघको कोषाध्यक्ष छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस