काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलको सत्ता शक्तिमा फेरि पुनरागमन भएको छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका निर्वाह गरेपछि करिब एक दशक शक्तिविहीन बनेका उनी फेरि शक्तिमा फर्किएका हुन् ।
प्रतिनिधि सभा निर्वाचनमा दुई पटकसम्म निरन्तर पराजय बेहोरेपछि जीवनको उत्तरार्धमा सजिलो बाटो रोजेका सिटौला बिहीबार राष्ट्रिय सभा सदस्य निर्वाचित भएर संसद् छिरेका छन् । देशमा गणतन्त्र ल्याउन भूमिका खेलेका उनी गणतन्त्र विरोधीहरुकै निसाना बन्दै आएका थिए । झापा–३ का पुराना सांसद उनी २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राजावादी नेता तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । उनलाई पराजित गर्न र राप्रपालाई सघाउन एमालेले दुवै पटक राप्रपासँग तालमेल गरेको थियो ।
सिटौला–लिङ्देनबीच पहिलो चुनावी भीडन्त तत्कालिन झापा–१ बाट २०५६ मा भएको थियो । त्यो बेला राप्रपा एक्लै चुनावी मैदानमा थियो । तसर्थ सिटौला निर्वाचित भए । २०६४ को पहिलो संविधानसभा चुनावमा लिङ्देन उम्मेदवार थिएनन् । त्यो बेला सिटौलाका प्रतिष्पर्धी थिए, माओवादी नेता पूर्णसिंह राजवंशी । राजवंशीले सिटौलालाई भारी मतले पराजित गरेका थिए । २०७० को दोस्रो संविधानसभामा लिङदेन पुनः उम्मेदवार बने । उनका निकटतम प्रतिष्पर्धी थिए, सिटौला । सिटौलाले दोस्रो पटक जित्दा लिङ्देन पराजित बनेका थिए ।
जानकारहरुका अनुसार यसपटक पनि एमाले–राप्रपा सिटौला हराउने अभियानमा जुटेका थिए । तर, त्यो सम्भव भएन । कुनै समय पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र मानिने सिटौला कोइरालाकै गृह नगरमा भएको राष्ट्रिय सभा निर्वाचनपछि सत्ता राजनीतिमा पुनरागमन गरेका हुन् ।
बन्लान् राष्ट्रियसभा अध्यक्ष ?
बिहीबारको चुनावी परिणामसँगै राष्ट्रिय सभाको अध्यक्षको विषयमा समेत नेताहरुबीच छलफल सुरु भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल पनि फागुन २० गते सकिँदैछ । त्यस लगत्तै रिक्त पदका लागि निर्वाचन हुनेछ ।
हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याल अध्यक्षको आकांक्षी छन् । ‘माओवादीले नेतृत्व गर्दा उपाध्यक्षबाट राजीनामा गरेर अध्यक्ष हुने कि भन्ने विकल्प छ । तर, निश्चित पात्रलाई हेरेर नेतृत्व गठबन्धनकै अर्को पार्टीले गर्ने भन्ने पनि छ’ उपाध्यक्ष अर्याल भन्छिन्, ‘दुवै विकल्पमाथि छलफल चलिरहेकै छ ।’
कांग्रेसबाट निर्वाचित कृष्ण सिटौलालाई अध्यक्ष बनाउने सहमति हुँदा माओवादी अध्यक्ष नलिन लचक हुनेबारे शीर्ष तहमा छलफल चलेको राष्ट्रिय सभामा माओवादीका सचेतक गोपी अछामीले बताए । ‘माओवादी संवैधानिक परिषदमा शून्य हुने अवस्था आउन सक्ने अवस्था बन्न सक्छ । त्यसका लागि तयार हुनुपर्ने पक्ष एउटा छ । तथापि, सिटौलाको हकमा लचक हुने भन्ने भएको सुनिएको छ’, सचेतक अछामीले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै सिटौलाको पक्षमा सकारात्मक भएकाले थप समस्या नहुने राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलकी सचेतक अनिता देवकोटाको बुझाइ छ । उनी भन्छिन्, ‘राष्ट्रिय सभाको अध्यक्षमा सिटौला दाइको नाम गठबन्धनभित्र टुंगो लागेको भन्ने मेरो बुझाइ छ ।’




