दाङ, रुपन्देही, तनहुँ र पाल्पामा भएका दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं । छुट्टा छुट्टै दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । गएराति दाङ, रूपन्देही, तनहुँ र पाल्पामा भएका दुर्घटनामा ७ जनाको मृत्यु भएको हो ।

बर्दियाबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका-९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बर्दिया गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए ।

बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल छन् । शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन भएको प्रहरीले जनाएको छ ।

यता रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-३ महिलवार-पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र भारत उत्तरप्रदेश नौगढका ३० वर्षीय जयप्रकाश गुप्ताको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टका अनुसार बाक्लो हुस्सु लागेको मौसम र पुल निर्माणका लागि एकतर्फी बनाइएको सांघुरो सडकमा विपरित दिशाबाट तीव्र गतिमा आइरहेका मोटरसाइकल जुध्दा दुवैजना गम्भीर घाइते भएका थिए । घाइते भएका दुवैजनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

यादव लु५८प २७२८ नम्बरको तथा गुप्ता युपी ५५ एएन १११२ नम्बरको मोटरसाइकलमा सवार थिए । दुवैको शब पोस्टमार्टमको लागि भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यस्तै तनहुँको देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा देवघाट-३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालकको खोजी भइरहेको उनले बताए । ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

पाल्पाको रम्भा गाउँपालिका-१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा रम्भा-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिए । मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको र शव परीक्षण लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री