काठमाडौं । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियादेखि काठमाडौं आउँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस गएराति लमही नगरपालिका-९ रिहार नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल छन् । सामान्य घाइते भएका बस चालकको कोहलपुरमा उपचार भइरहेको छ ।
मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ । केही दिन अगाडि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।




