सन् २०२३ : स्थायी बसोवास गर्ने गरी बिदेसिए ७१ हजार नेपाली

काठमाडौं । सन् २०२३ मा १६ लाखभन्दा बढी नेपाली विदेश गएका छन् । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेको हो ।

अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणानुसार, गत वर्ष अर्थात् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा १६ लाख तीन हजार ८३६ नेपाली विदेश गएका छन् । यो अवधिमा विदेश जाने नेपालीमध्ये ११ लाख ७१ हजार १८६ पुरुष छन् । चार लाख ३२ हजार ५८४ महिला छन् । यसमा सबैभन्दा ठूलो संख्या वैदेशिक रोजगारीमा जानेको छ ।

२०२३ मा ८ लाख ८ हजार ४१५ नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगारीमा जानेमध्ये पुरुष ७ लाख २३ हजार ७८९ र महिला ८४ हजार ६०४ छन् । वैदेशिक रोजगारपछि दोस्रो ठूलो संख्या भिजिट भिसामा जानेहरूको छ । २०२३ मा २ लाख चार हजार ५१८ नेपाली भिजिट भिसामा विभिन्न देश गएका विभागले जनाएको छ । भिजिट भिसामा विदेश जाने नेपालीमा १ लाख ३० हजार ९२६ पुरुष र ७३ हजार ५७५ महिला छन् ।

यसमा तेस्रो ठूलो संख्या विदेशमा रहेका आफन्त/परिवार भेट्न जानेहरूको छ । २०२३ मा एक लाख ६७ हजार ४८५ नेपाली आफन्त/परिवार भेट्ने उद्देश्यले विदेश गएका छन् । आफन्त परिवार भेट्न गएका मध्ये ७० हजार ८०८ पुरुष र ९६ हजार ६७७ महिला छन् । गत वर्ष अध्ययन गर्ने उद्देश्यले एक लाख आठ हजार ५४२ नेपाली विदेश गएका छन् । यीमध्ये ५९ हजार ९७८ पुरुष र ४८ हजार ५६२ महिला छन् ।

सन् २०२३ मा स्थायी बसोवास गर्ने गरी ७१ हजार नेपाली बिदेसिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी बसोवास गर्ने गरी ७० हजार नौ सय १५ नेपाली बिदेसिएका छन् । स्थायी बसोवासका लागि विदेश जानेमा ३६ हजार ६ सय ६३ पुरुष र ३४ हजार दुई सय ५१ महिला छन् ।

मुलुकबाहेक युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देश जाने नेपालीको मूल उद्देश्य नै स्थायी बसोवासका लागि हुने गरेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । यसमा डाइभर्सिटी भिसा (डिभी) परेर, ग्रिनकार्ड लिएर र स्थायी आवासको अनुमति (पिआर) लिएर बाहिरिने गरेको उनको भनाइ छ । ‘पर्यटन, अध्ययन जे भने पनि यताबाट गएका नेपाली नागरिक उता गएपछि स्थायी बसोवासका लागि पहल गर्ने गरेका छन् । खाडी मुलुक जाने नेपाली मात्रै फर्किने गर्छन्,’ उनले भने ।

प्रमुख गन्तव्य युएई
सन् २०२३ मा विदेश जाने नेपाली नागरिकको प्रमुख गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । यो अवधिमा दुई लाख ७१ हजार ८८ जना नेपाली युएई गएका छन् । दोस्रो गन्तव्य मुलुक भारत र तेस्रोमा कतार छ ।

एक लाख ८० हजार नेपाली भारत र एक लाख ७९ हजार चार सय ४१ जना कतार गएका छन् । मलेसिया जाने नेपालीको संख्या एक लाख ६५ हजार दुई सय एकजना पुगेको छ । एक लाख ३६ हजार दुई सय तीनजना साउदी अरब पुगेका छन् । एक लाख पाँच हजार तीन सय ४३ जना अस्ट्रेलिया गएको विभागको तथ्यांकले देखाएको छ ।

सातौँ प्रमुख गन्तव्यमा जापान छ, जहाँ ८२ हजार सात सय ७२ नेपाली गएका छन् । अमेरिका जानेको संख्या ६७ हजार आठ सय १० र बेलायत जाने ५३ हजार चार सय एकजना छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस