काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित काभ्रेको बनेपा नगरपालिकाका एक वडाध्यक्षलाई पक्राउ गरेको छ । घर बाटो सिफारिस गर्ने बहाना बनाएर १५ लाख रुपैयाँ घुस लिएको अवस्थामा बनेपा-९ का वडाध्यक्ष नृपेश बादेलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
उनलाई बुधबार बेलुकी भक्तपुरको मध्यपुर थिमी-३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
आयोगले वडाध्यक्ष बादेसँगै आएका कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको छ । उनको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन र १०० अमेरिकी डलर बरामद भएको आयोगले बताएको छ । कारसहित प्रधानलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरेले जानकारी दिए ।




