कसरी सुरु भयो यो मेलमिलाप दिवस ?

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ । लोकतन्त्र प्राप्तिका लागि पटक–पटक आन्दोलनमा योगदान गरेका, बृहत शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा ४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको हो ।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार दिऊसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम आयोजना हुनेछ । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ’राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ ।

२०३३ पुस १६ गते कांग्रेसका संस्थापक नेतासमेत रहेका बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायतका नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वाशित जीवन त्याग गरी स्वदेश फर्किएका थिए । भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालालगायत नेताले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४५ वर्षअघि स्वदेश फर्किएका थिए ।

देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यानको बाजी थापेर स्वदेशमै फर्केका थिए । २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको ‘कू’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो ।

आठ वर्षपछि २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखि राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४५ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका थिए । विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिने बित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो ।

२०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी कोइरालालाई रिहा गरिएको थियो। यसपछि एक पटक सुन्दरीजल बन्दीगृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ । सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) तथा जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखेका थिए ।

बन्दीगृहमा बस्नुअघि २००८ मा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रूपमा चिनिन्छन् । २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ । आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदै छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस