परराष्ट्रमन्त्रीले फेरि भने- वीपिनको रिहाइका लागि प्रयासरत छौं

काठमाडाैं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताएका हुन् ।

‘इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ’, उनले भने ‘प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफैँ गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु।’ उनले दोस्रो युद्धविराममा विपिनको रिहाइ हुनेमा आश्वस्त पारे।

त्यस अवसरमा विपिनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी छोराको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए। ‘कतारले दोस्रो युद्धविरामका लागि आफूहरू प्रयासरत रहेको जवाफ दिएको छ, दोस्रो युद्धविराममा विपिन सकुशल फर्किने अपेक्षा छ’, साउदले भने, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ।’

यसअघि पनि मन्त्री साउँदले पटकपटक विपिन जोशीको रिहाइका लागि सरकार लागिपरेको बताउँदै आएका छन्। गत मंसिरमा शुक्लाफाँटा नगरपालिका नवनिर्मित भवनको उद्घाटन गर्दै उनले कूटनीतिक पहल गरेर जोशीको रिहाइ गरिने बताएका थिए।

त्यसयता कयौं पटक उनले जोशीको रिहाइको लागि पहल गरिरहेको बताएपनि विपिनको रिहाइ त परैको कुरा उनको अवस्थाको बारेमा समेत जानकारी आउन सकेको छैन्। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए।

सुदूरपश्चिम विश्वविद्यालयबाट उनी सहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो। कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस