सर्वोच्चमा आजदेखि २० न्यायाधीशको इजलास

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि २० न्यायाधीशको इजलास हुने भएको छ । बिहीबार शपथ ग्रहण गरेका नवनियुक्त ६ न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सहित २० इजलासमा बस्नेछ ।

पोखरेल र ढकाल कानुन व्यवसायी पृष्ठभूमिका हुन् भने बाँकी चार न्यायाधीश उच्च अदालतमा कार्यरत छँदै नियुक्त गरिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरूलाई शपथ खुवाएलगत्तै सर्वोच्च अदालतमा बोलाएर छलफलसमेत गरेका थिए । उनीहरूको नियुक्तिसँगै डेढ वर्षपछि सर्वोच्चमा ठूलो संख्यामा इजलास बस्ने भएको हो ।

संविधान जारी भएयता सर्वोच्च अदालतमा सबभन्दा ठूलो संख्यामा न्यायाधीशले मुद्दा हेर्न लागेको यो दोस्रोपल्ट हो । यसअघि २०७६ वैशाख ६ गतेदेखि पाँच न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा नियुक्ति हुँदा पूर्ण संख्या २१ जनाको इजलास लागेको थियो ।

त्यसपछि घट्दै गएको न्यायाधीशको संख्या १४ मा पुगेको थियो। पाँच जना न्यायाधीश चाहिने हुँदा संवैधानिक इजलास बसेका दिन अन्य इजलास ४ भन्दा बढी गठन हुन नसक्ने अवस्थामा अदालत पुगेको थियो । लामो समयसम्म न्यायाधीश कम हुँदा सर्वोच्चमा मुद्दाको संख्या थुप्रेर २८ हजार पुगेको छ ।

२०७२ मा संविधान जारी भएपछि सर्वोच्चमा २१ स्थायी न्यायाधीशको दरबन्दीको व्यवस्था गरे पनि रिक्त हुनेबित्तिकै नियुक्ति नहुँदा पूर्ण संख्याको इजलास दुर्लभ हुँदै आएको छ र त्यसले छिन्न बाँकी मुद्दाको लगत बढाउँदै लगेको छ। सर्वोच्चमा अझै एक न्यायाधीश खाली रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा थप ७ वटा शव फेला

काठमाडाैं । धादिङको झ्याप्ले खोला क्षेत्रमा थप ७ वटा शव भेटिएका छन् । पहिरोमा पुरिएको …

प्रतिकृया दिनुहॊस