रोल्पा अस्पतालमा अहिलेसम्मकै धेरै सुधार, डा. ज्ञवालीको नेतृत्वमा अस्पतालले पायो ८५ स्कोर

रोल्पा । पहाडी दुर्गम जिल्ला रोल्पामा रहेको रोल्पा अस्पतालमा अहिलेसम्मकै सबैभन्दा धेरै सुधार भएको पाइएको छ । रोल्पा अस्पतालको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन तथा समीक्षा गर्दा अहिलेसम्मकै धेरै सुधार भएको पाइएको हो ।

गत मंसिर २८ र २९ गते भएको मूल्याङ्कन तथा समीक्षापछि इतिहासमै पहिलो पटक अस्पतालले न्यूनतम सेवा मापदण्डको स्कोरमा ८५ अंक ल्याएको जानकारी दिइएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले नियमित गर्ने यस आर्थिक वर्षको मूल्याङ्कनका लागि अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीको नेतृत्वमा निर्देशनालयकै कौशल भण्डारी, अस्मिता नेपाल र सन्देश पौडेलसहितको चार जनाको टोली खटिएको थियो ।

टोलीले मङ्सिर २८ गते अस्पतालको अनुगमन तथा निरीक्षण गरेको थियो भने मङ्सिर २९ गते समीक्षा कार्यक्रम गरेको थियो । समीक्षा कार्यक्रममा प्रमुख अतिथिको रूपमा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार ओली रहनु भएको थियो भने प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रतिनिधि उद्योगी व्यवसायी, पत्रकार, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि तथा अन्य सम्पूर्ण सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अस्पताल तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. लोकरत्ना ज्ञवालीले अस्पतालको अवस्थाका बारेमा प्रस्तुति दिनु भएको थियो । कार्यक्रममा सहभागीहरूले डा. ज्ञवाली नेतृत्वको टोलीले अस्पतालमा चमत्कारिक सुधार गरेको भन्दै प्रशंसा गरेका थिए । अस्पताल विकास समितिका अध्यक्ष शेर बहादुर थापाले पनि अस्पतालको सुधारमा डा ज्ञवाली नेतृत्वको टोलीले धेरै मेहनत गरेको भन्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

५० शय्याको यो प्रादेशिक अस्पताल हाकिराख्नु भएका मेसु डा. ज्ञवालीले अस्पतालमा एकदमै राम्रो टिमवर्क रहेको र आफूहरूको निरन्तरको खटाइले अहिलेको उत्कृष्ट नतिजा आएको बताइन् । ‘अहिले सार्वजनिक भएको नतिजाले हाम्रा कर्मचारी साथीहरूको मेहनतलाई न्याय गरेको छ,’ उनले भनिन्, ‘आगामी दिनमा अझ राम्रो गर्ने प्रयास गर्नेछौ । हामी यो स्कोर धेरै माथि पुर्‍याउन चाहन्छौँ ।’ आफूहरूलाई आवश्यक जनशक्ति पर्याप्त भएमा अहिलेको सेवालाई अझ पर्याप्त र प्रभावकारी बनाउन सक्ने उनको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री