काठमाडौं । एसिसी यू–१९ एसिया कपको उपाधि बंगलादेशले जितेको छ । युएईलाई १९५ रनले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।
बंगलादेशको यो पहिलो उपाधि हो । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा ८७ रनमा अल आउट भयो । युएईका ध्रुब पराशरले ३९ बलमा २ चौकासहित सर्वाधिक २४ रन बनाए ।
युएईका ९ खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशको जितमा मरुफ मरिधा र रोहनात बोस्रनले तीन तीन विकेट लिए । इकबाल हुसेन एमोन र शेख जिवनले समान दुई विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । बंगलादेशको जितमा ओपनर आशिकुर रहमानले १ सय ४९ बलमा १२ चौका र १ छक्कासहित १ सय २९ रनको शतकीय इनिङ खेले ।
मोहम्मद रिजवानले ७१ बलमा ४ चौका र १ छक्कासहित ६० रनको योगदान दिए । रिजवान र रहमानले दोस्रो विकेटका लागि १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए । अरिफुल इस्लामले ४० बलमा ६ चौकासहित ५० रन बनाए । तेस्रो विकेटका लागि इस्लाम र रहमानले ८६ रनको साझेदारी गरेका थिए ।
युएईका तीव्र गतिका बलर आयमान अहमदले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । ओमैद रहमानले १० ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । आयन खान र ध्रुब पराशरले एक एक विकेट लिए ।
युएईले सेमिफाइनलमा पाकिस्तानलाई ११ रन तथा बंगलादेशले भारतलाई ४ विकेटले हराउँदै फाइनलमा पुगेका थिए । युएई पहिलो पटक र बंगलादेश दोस्रो पटक फाइनल खेलेका हुन् ।
प्रतिकृया दिनुहॊस