काठमाडाैँ । नबिल बैंकको तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र आजदेखि बिक्री खुला भएको छ। बैंकले प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो।
बैंकले ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रूपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको बताइएको छ। सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रूपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि छुट्याइएको छ।
सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ। उक्त ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिन्छ सो अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि पुस १३ गतेसम्म लम्बिनेछ।
बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।




