कवाडी गोदाममा आगलागी : मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार दिउँसो आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । काठमाडौंमा उपचारका क्रममा सुनिता कामतको मृत्यु भएको हो ।

आगलागीमा परी घाइते भएका ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । कामतको बुधबार राति ८ः२५ मा उपचारकै क्रममा मृत्यु भएको हो ।

मोरङ प्रहरी प्रवक्ता रञ्जन दाहालका अनुसार जलेर घटनास्थलमै सुशीला पासवानको मृत्यु भएको थियो । आगलागीमा परेर गम्भीर घाइते दीपक मण्डलको पनि न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको थियो ।

३ जना घाइतेको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । मृतक सबै गोदाममा काम गर्ने कामदार हुन् । प्रहरीका अनुसार गोदाममा काम गर्ने मजदुरहरूले चुरोट पिउन खोज्दा त्यसैबाट आगो सल्किएको थियो ।

‘कवाडी गोदाममा केमिकलमा हाल्ने परफ्युम भर्ने क्रममा चुरोट सक्काउँदा आगजनी भएको पाइएको छ’, डीएसपी दाहालले भने ‘त्यहाँ प्रयोग हुने केमिकल एकदमै प्रज्ज्वलनशील पदार्थ हो।’

तपाईंको प्रतिकृया

लेखकबाट थप