काठमाडाैँ । बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरूँ बस्ने ३१ वर्षीया पानसरा रोकायाले तेस्रो सन्तानका रूपमा बाटोमै छोरीको जन्म दिइन् । यो भन्दा पहिलाका दुई वटा सन्तान पनि काम गर्ने गएको बेला बाटो र जंगलमा बच्चा जन्माएकी थिइन् ।
सुत्केरी बेथा लाग्ने बित्तिकै पानसरा एक्लै मंगलवार आधारभूत स्वास्थ्य केन्द्र कुरूँ जाँदै गर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले बताएकी छन् । धर्माले आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा बच्चा पाइरहेको फेला पारेपछि उनलाई सहयोग गरेको बताइन् ।
पानसरालाई अत्यधिक रक्तस्राव भएको थियो । बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको धर्माले बताइन् । उनीसँग अरू कोही आफन्त नरहेको एक्लै स्वास्थ्य चौकी आउँदै गर्दा बाटोमा बच्चा जन्माएको स्वास्थ्यकर्मीले बताएका छन् । उनको यो भन्दा पहिला एक छोरा र एक छोरी रहेका थिए । पानसराले तिनै सन्तान बाटोमै जन्माएकी छन् ।
बाजुरामा पानसरी मात्र नभई धेरै आमा बाटोमा बच्चा जन्माउने गरेका छन् ।




