राष्ट्रिय सभाबाट बिदा हुँदैछन् यी २० सांसद, सबैभन्दा बढी एमालेका

काठमाडौँ । सरकारले चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बिहीबार बसेको बैठकले माघ ११ गते हुने १९ पदको निर्वाचन तालिका स्वीकृत गरिसकेको छ । कोशी प्रदेशबाट २ सदस्य, मधेस प्रदेशबाट २ सदस्य, बागमती प्रदेशबाट ४ सदस्य, गण्डकी प्रदेशबाट ३ सदस्य, लुम्बिनी प्रदेशबाट २ सदस्य, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदैछ।

जसअनुसार मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरिएको छ। राजनीतिक दल दर्ता सम्पन्न भएपछि पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइनेछ। पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगको भनाई छ।

अगामी पुस २० गतेदेखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ भने माघ ११ गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको छ । २०७४ साल फागुनबाट २०८० साल फागुनसम्म कायम भएका १ स्वतन्त्र सहित २० सांसदहरू बिदाइ हुन लागेका छन् । अहिले बिदाइ हुन लागेका १ तिहाइ राष्ट्रिय सभा सदस्यले ६ वर्ष अवधि पूरा गर्नेछन् ।

माथिल्लो सदनको रूपमा रहेको राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुने संवैधानिक व्यवस्था रहेको छ। संविधान जारी भएर पहिलो निर्वाचन सम्पन्न भएपछि गोला प्रथाबाट सांसदहरूको पदावधि तय गरिएको थियो। गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय सकिन लागेको हो।

यो पटक सबैभन्दा धेरै नेकपा एमालेबाट निर्वाचित ९ सदस्यहरूको बिदाइ हुँदैछ। गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बिदाइ हुँदैछ।

एमालेका अन्य सदस्यहरूमा सुदूरपश्चिम प्रदेश महिला समूहबाट निर्वाचित इन्दु कडरिया, लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराई, गण्डकीबाट निर्वाचित दीपा गुरुङ, बागमतीबाट निर्वाचित दिलकुमारी रावल थापा पार्वती, कर्णालीबाट दलित कोटाबाट निर्वाचित नरपति लुवार र कर्णालीबाटै निर्वाचित भैरवसुन्दर श्रेष्ठ, बागमतीबाट निर्वाचित रामचन्द्र राई बिदा हुँदैछन् ।

यस्तै नेपाली कांग्रेसबाट ४ जना सदस्यहरू अन्तर्गत लुम्बिनी प्रदेशबाट अनिता देवकोटा, मधेस प्रदेशबाट जितेन्द्रनारायण देव, गण्डकीबाट प्रकाश पन्थ, कोशी प्रदेशबाट रमेशजङ्ग रायमाझी बिदाइमा पर्दैछन्। माओवादी केन्द्रका ३ जना सदस्यहरूमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित महेशकुमार महरा, कोशी प्रदेशबाट निर्वाचित बिना पोखरेल, सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हरिराम चौधरी बिदाइ हुनेछन्।

नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशबाट निर्वाचित नन्दा चपाई र बागमती प्रदेशबाट निर्वाचित सिंगबहादुर विश्वकर्माको बिदाइ हुनेछ। जनता समाजवादी पार्टीका मधेस प्रदेशबाट प्रमीला कुमारी र बागमती प्रदेशबाट निर्वाचित स्वतन्त्र सदस्य खिमलाल देवकोटाको बिदाइ हुनेछ । यसअघि २ वर्ष र ४ वर्ष समयावधि पाएका सदस्यहरू बिदाइ भइसकेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस