काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले संघीयता भन्नेहरुलाई खेद्नुपर्ने बताएका छन् । बल्खुमा आफ्नो समूहको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रसाईंले यस्तो बताएका हुन् ।
उनले आफूहरुको प्रदर्शन आन्दोलन नभई जनविद्रोह भएको उनले जिकिर गरे । उनले भने,’यो देशलाई फेरि पुरानो नेपाल बनाउनुछ, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्नुछ । यो आन्दोलन होइन, यसलाई तपाई आन्दोलन नभन्नुस्, जनताले भनेको जनविद्रोह हो ।’
उनले नेपालका कैयौँ नेताहरुको विदेशमा लगानी रहेको दाबी गरे । साथै प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतासमक्ष आत्मसमर्पण गर्न सुझाव दिए । ‘अहिलेका प्रधानमन्त्री प्रचण्डलाई म राम्रोसँग चिन्दछु । तपाईं सरेन्डर गर्नुहोस्, जनतासित आउनुहोस् । हिजो यिनै जनताले पुर्याएका हुन् त्यो ठाउँमा,’ उनले भने ।
उनले अब काठमाडौँ कब्जा गर्ने उनले चेतावनी दिए । उनले भने,’हामीले अब काठमाडौँ कब्जा गर्नुपर्छ । संसद् भवन कब्जा गर्नुपर्छ । हामीलाई चलाउने कोशिस भयो भने तपाईंहरुले काठमाडौँमा सबै दोकानहरु बन्द गराउनुपर्छ ।’



