फाइल फोटो

प्रसाईं र युवा संघको प्रदर्शन आज, दुवैले भक्तपुरबाट जुलुस निकाल्ने (रुटसहित)

काठमाडौं । एमाले निकट युवा संघ र मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईं समूहले आज विरोध प्रदर्शन गर्दैछन् । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेका भएपनि प्रशासनले यो क्षेत्रमा निषेधाज्ञा जारी गरेर प्रदर्शनका लागि फरक-फरक स्थान तोकिदिएको छ । यसअनुसार युवा संघले तीनकुनेमा र प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्नेछन् ।

युवा संघले सल्लाघारीबाट र प्रसाईं नेतृत्वको समूहले सानो ठिमीस्थित एसओएसबाट जुलुस निकाल्ने भएका छन् । युवा संघको जुलुस मोटरसाइकल सहित कोटेश्वर हुँदै च्यासलस्थित पार्टी कार्यालयमा पुग्नेछ । च्यासलबाट बागमती करिडोर हुँदै बिहान साढे १० मा युवा संघको जुलुस तीनकुने पुग्ने गरी रुट तय गरिएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको समूहको जुलुस सानोठिमीबाट पेप्सीकोला हुँदै मित्रपार्क पुग्ने र भित्री बाटो र चक्रपथ हुँदै बल्खु पुग्ने गरी रुट निर्धारण गरिएको छ । जुलुसको नेतृत्व प्रसाईं र महेश बस्नेतले गर्नेछन् । बस्नेतको गृहजिल्ला भक्तपुर नै हो भने प्रसाईंको पनि भक्तपुरमा घर छ । प्रहरीले आजैदेखि लोकन्थलीस्थित प्रसाईंको घर र गुण्डुस्थित बस्नेतको घर आसपास सुरक्षा सतर्कता बढाएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल-२०७९’ का नाममा ‘मंसिर ७ नागरिकको साथ’ नाराका साथ प्रसाईंको नेतृत्वमा प्रदर्शन हुन लागेको हो । युवा संघले भने महँगीको विरोधमा प्रदर्शन आयोजना गरेको हो । दुई समूहको फरक-फरक उद्देश्य भए पनि प्रसाईं र बस्नेतको व्यक्तिगत तिक्तताका कारण झडप हुन सक्ने आकलन गरिएको छ ।

बल्खु र तीनकुनेमा बिहीबार हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ । बल्खुमा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ भने एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ ।

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले बताएको छ । प्रदर्शनस्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौंमा २ हजार ६३७, ललितपुरमा ५६४ र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् । उपत्यका ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा कठिनाइ हुने भन्दै अत्यावश्यक काम भएमात्र घरबाट बाहिर निस्कन भनेको छ ।

दुई समूहबीच झडपको सम्भावनालाई मध्यनजर गरेर प्रशासनले फरक फरक स्थान तोकिदिएको छ । प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ ।

प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौंका एसएसपीले गर्नेछन् । प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ । तीनकुनेमा भने अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न सम्भव छैन । प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस