आईसीटी अवार्डमा पब्लिक भोटिङ सुरु, ४ विधामा हाम्रो पेमार्फत भोट गर्न सकिने

काठमाडौं । आईसीटी अवार्ड २०२३ को लागि पब्लिक भोटिङ सुरु भएको छ । आईसीटी अवार्डका ३ विधामा विभिन्न ४ चरणको छनौटपश्चात पब्लिक भोटिङ सञ्चालन भएको छ ।

स्टार्ट अप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्डमा उत्कृष्ट ५ को छनौटपछि ‘हाम्रो पात्रो’ अन्तर्गतको ‘हाम्रो पे’ एपमार्फत पब्लिक भोटिङ सुरु गरिएको आयोजकले जनाएको छ ।

प्रिजेन्टेसन तथा स्पिड डेटिङ सेसनबाट छनौट भएका उत्कृष्ट ५ ले क्याटेगोरी अवार्ड विजेताको लागि र उत्कृष्ट १३ मा पर्न सफल ३९ प्रतिस्पर्धीले पब्लिक च्वाइस आईसीटी अवार्डका लागि हाम्रो पे पब्लिक भोटिङ सञ्चालन गरिएको छ । क्याटेगोरी अवार्ड भोटिङको लागि एउटा आईडीले १ दिनमा एउटा विधामा एउटा मात्र भोट गर्न सकिनेछ भने पब्लिक च्वाइसमा इच्छा अनुसारको भोट गर्न सकिनेछ ।

सर्वोत्कृष्ट छनौटको लागि जुरी समितिको फिल्ड भिजिट पनि सञ्चालन हुने जनाइएको छ । लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्ने प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा १३ विधामा नोमिनेसन खुला गरिएको थियो । प्राप्त ६०० बढीको अनलाइन नोमिनेसनबाट सम्पूर्ण विधामा सर्वोत्कृष्ट छनौट १४ जना जुरी सदस्यहरूले विभिन्न चरणको छनौट प्रक्रिया सञ्चालनमा रहेको छ । दक्षिण एसियाली देशका स्टार्टअपहरूलाई लक्षित गरेर साउथ स्टार्टअप अवार्ड पनि सञ्चालनमा छ । यसका लागि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विज्ञहरूलाई जुरी समितिमा समावेश गरिएको आयोजकले जनाएको छ ।

उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा भोजमाण्डु फुड प्रालि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, रासन टेक्नोलोजिज प्रालि र यार्सा टेक प्रालि रहेका छन् । प्रडक्ट आईसीटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरूमा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्युकआरपिए र यात्री पी १ रहेका छन् । राइजिङ स्टार इन्नोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरूमा ब्लाङ्सेर, ड्रेसन, दृश्य, इन्टर्नसाथी र प्रष्ट नेपाली रहेका छन् ।

यी उत्कृष्ट ५ सँगै अन्य १३ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको बारेमा तयार पारिएको विशेष टेलिभिजन कार्यक्रम पनि प्रसारणको तयारीमा रहेको छ । ग्राण्ड फिनाले अघि कान्तिपुर टेलिभिजनबाट ५ वटा एपिसोडहरू प्रसारण हुने जनाइएको छ ।

आईसीटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यक्तिगत र संस्थागत अवार्ड विधाहरूमा पनि छनौट प्रक्रिया जारी रहेको छ । प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आईसीटी अवार्डका विधाहरूमा तेस्रो चरणको छनौट प्रक्रिया सञ्चालनमा छ । डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा दोस्रो चरणको छनौट प्रक्रिया सञ्चालन भइरहेको छ ।

आईसीटी अवार्डको ग्राण्ड फिनाले पुस ६ गते द सोल्टी काठमाण्डुमा आयोजना हुनेछ । कार्यक्रम सहभागी हुन इच्छुकले मसिंर १५ गतेदेखि खुला हुने टिकट खरिद गर्न सकिने जनाइएको छ । भोटिङ र फाइनलिस्टहरूको बारेमा थप जानकारी लिन वेबसाइट www.ictaward.org हेर्न सकिने आयोजकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस