पत्रकारको भूकम्प डायरी (भिडियोसहित)

  • सरु बस्नेत -स्टेसन म्यानेजर, रेडियो पृथ्वी एफएम कुशे गाउँपालिका जाजरकोट 

मेरो नाम सरु बस्नेत हो । हामीले यहाँ पृथ्वी एफएम सञ्चालन गरिरहेको छौँ । मैले म्यानेजरको रुपमा काम गर्छु ।  १७ गते राती ११ बजेर ४७ मिनेटमा डरलाग्दो गरी भूकम्प आयो । केही समय अगाडि रेडियो बन्द गरेर खाना खाएर भर्खर सुतेको थिएँ । सुरुमा पहिला तर्सायो तरपनि मेरो निन्द्रा खुलेको नै थिएन ।

हाम्रा घरका मानिसहरू भूकम्प आयो भन्दै चिच्याउँदै बाहिर निस्की सक्नुभएको थियो । म निस्कीसकेको थिइन । म त भित्रबाट नै नकराऊ भन्दै घर वरिपरिका मान्छेलाई सान्त्वना दिइरहेको थिएँ । सबैजनाले बाहिर आउनु भनेर कराएपछि म पनि निस्किएँ । बाहिर गएपछि भूकम्प फेरि फर्कियो । जसलाई ‘आफ्टर सक’ भनिन्छ । राती अन्धकार थियो । केही व्यक्तिहरूले आगो बालेको देखियो । सबैजना कराई रहेका थिए । म बस्ने ठाउँमा ४/५ वटा घर भत्किएका कारण मान्छे बिते भन्ने खबर आयो । यति सुनिसकेपछि मैले फोन गरेर वडा अध्यक्षसँग सबै बुझेँ । धेरैजना मान्छे बितिसकेको भनेर उहाँले जानकारी दिएपछि झन् डर लाग्यो । एउटा सञ्चारकर्मी भएका नाताले क्षतिको विवरण बुझेर सुसूचित गर्ने जिम्मेवारी पनि काँधमा थियो ।

भूकम्पको धक्कासँगै वरपरका मानिसहरूको चिच्याहटले मुटुले ठाउँ नै छोडिसकेको थियो । सबै जनाले आगो बालिसकेका थिए । घरहरू भत्किएका, चर्किएका खबरले ज्यादै नराम्रो अनुभूति भयो । कुशे गाउँपालिकामा राती ७ जनाको मृत्यु भइसकेको खबर प्राप्त भयो । रातीको समय भएका कारण प्रत्यक्ष रुपमा स्थलगत रिपोर्टिङमा जाने अवस्था थिएन ।

स्थानीयहरूलाई उद्धार गरिदिनका लागि आग्रह गर्‍यौँ । गाउँपालिकाका अध्यक्ष पनि त्यही दिनमा नै आफ्नो बच्चा बिरामी भएर सदरमुकाम जानु भएको थियो । साथीभाइलाई उद्धार गर्न लाग्यौँ । त्यहाँ भएका साथीभाइलाई पनि सहयोग गर्नुस् भनेर अध्यक्षले निर्देशन दिनुभयो । गाउँको बाटो भएका कारण एम्बुलेन्स ढिलो गरेर आयो । बिहान भइसकेको थियो । हेलिकप्टर पनि आयो । रातीमा खासै वास्ता भएन । आफ्नो घर हेरिसकेपछि झनै पीडा भयो । कसैका घरपनि सग्ला बाँकी थिएनन् ।

गाउँघरमा घर भत्किएका कारण बस्न नसक्ने भएपछि बारी र खेतमा मान्छेहरू बसे । १७ गते साँझ फेरि वडा न ९ चौराता भने ठाउँमा एकजना आमाले आगो बाल्न जानुभएको रहेछ । त्यतिबेला फेरि भूकम्प गयो । २ जना सोही घरभित्र हुनुहुँदो रहेछ । भूकम्पको पराकम्पले घाइते हुनुभएछ । हेलिकप्टरमा राखेर उहाँलाई पनि उपचारका लागि लगियो । तीमध्ये एकजना आमाको हात भाँचिएको थियो । नलगाड नगरपालिकाका उपमेयर सरिता सिंह बित्नुभएको खबर जताततै फैलिसकेको थियो । उहाँको मृत्युको खबरले असह्य पीडा भयो । नापी कार्यालयको अमिन र उहाँको भाइको पनि भूकम्पकै कारण मृत्यु भएको खबर आयो । त्यसपछि मृतकको सङ्ख्या थपिँदै जाँदा झन् गाह्रो भयो ।

पश्चिम नेपालमा ठूलो भूकम्प जाने भूकम्पविद्हरूले सचेत गराइराखेका छन् । विज्ञहरूको भिडियोहरू हेर्दा झन् मानिसहरू डराएका छन् । सबैतिर डर नै डर छ । अझै घरभित्र पस्ने अवस्था छैन । राहत सबैतिर पुर्‍याउनलाई पनि सम्बन्धित निकायले सकिरहेको छैन । काम गर्नेहरूलाई काम गर्न त दिनैपर्छ । तर न्यायोचित ढंगमा राहतको वितरण भइराखेको छैन । राहत वितरण नहुँदै कति बालबालिका अनि बूढाबूढीहरू बिरामी परिराख्नु भएको छ । मरेर जानेहरू त गए । बाँच्नेहरूमा महामारीको झनै जोखिम देखिएको छ ।

म बस्ने घरमा डराउन दिन्छ भनेर सुनेको थिएँ । यस्ता कुरामा पत्रकार भएका नाताले  विश्वास लाग्दैन थियो तरपनि धेरैजनाले डराउन दिने छ है भनेका कारण कताकति मनमा चिसो पस्थ्यो । जब सुरुचोटि घर हल्लायो, मलाई भूकम्प गएको भन्ने विश्वासै लागेन । सबैजना निस्किसकेपछि बल्ल बाहिर गएँ । भाग्यले बाँचे ।

हाम्रो रेडियो एकदमै चर्किएको छ । हाम्रो भवनको झ्याल नै लगभग खस्लाजस्तो भएको छ । सूचना त दिनुपर्‍यो । गाउँघरमा सूचनाको प्रमुख माध्यम नै रेडियो हुन्छ । स्थानीय सूचनाका लागि रेडियो त खोल्नुपर्छ भन्ने सोचेर मैले मन बलियो बनाउँदै रेडियो खोलेँ । अहिले हामी डराई/डराई रेडियो खोल्ने अनि बन्द गर्ने गरिरहेका छौँ । पत्रकार महासंघको अध्यक्षसँग पनि क्षतिका विषयमा कुराकानी भयो । अन्य रेडियोहरूमा पनि क्षति पुगेको छ ।

रेडियो खलंगा र नलगाड एफएमको भवन पूरै भत्किएको छ । यस्तो अवस्थामा केही रेडियोहरू नागरिक सूचनाबाट वञ्चित हुन नपरोस् भनेर त्रिपालमा राखेरै भएपनि रेडियो सञ्चालन गरिरहनुभएको छ । यसपालिको भूकम्पले दस्तक दिएको छ । अब हामी सबै सुरक्षित हुनुपर्छ । अब भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्छ । पश्चिम नेपाल भूकम्पको निकै जोखिममा रहेको भूकम्पविद्ले बताइरहेका बेला पटक पटक जाने पराकम्पले हामीलाई तर्साइरहेको छ । आम नागरिक पीडामा छन् । आम नागरिकलाई सूचना दिने पत्रकारिता क्षेत्र पनि यतिबेला त्रासमा छ । सबैको साथ र सहयोगको जरुरत छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशभर मनसुनी वायुको प्रभाव, आज यी क्षेत्रमा भारी वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास …

प्रतिकृया दिनुहॊस