[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौँ । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो ।
महानगरले अब चलचित्र क्षेत्रको विकास र बिस्तारका लागि काठमाडौं क्रिएट द काउन्सिल (केसीएसी, केएमस) स्थापना गर्ने पनि पत्रकार सम्मेलनमार्फत जनाएको छ । चलचित्र क्षेत्रको विकास र बिस्तार तथा चलचित्रसँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवर्द्धन लागि आवश्यक पर्ने नीति अनुसन्धान र विकासमा जोड दिने बताएको छ ।
यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू गतिविधिहरू कार्यान्वयन गर्ने महानगरपालिकाको विश्वास छ । नेपालको राजधानी सहर काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’को रूपमा सूचिकृत गरेको थियो ।
विश्व सहर दिवसको अवसरमा काठमाडौँसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले जनाएको छ । युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ सहर सूचिकृत गरेको हो । यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र संगीत समावेश छन् ।
चलचित्र स्टुडियो, पोस्ट उत्पादन सुविधाहरू चलचित्र विद्यालयहरू, उद्योगका विधागत सिप र सिकाइहरूलाई सज्जालमा आबद्ध गरेर प्रवर्धन गरिने, अभिलेख, पुस्तकालय र हालको विकास हुने, स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गरिने, तथ्य तथ्याङ्क निर्माण गरिने, व्यञ्जन कला र शिल्प, हस्तकला उद्योगको प्रवर्धन मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिने महानगरले जनाएको छ ।
महानगरले अन्तर्राष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चित्र महोत्सव, फिल्म एक्स्पो फिल्म सोमट जस्ता सञ्चालन गर्ने भएको छ । युनेस्को क्रियटिभ सिटीज नेटवर्क (युसीसीएन) कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।




