काठमाडौं । सिटिजन्स बैंकको अध्यक्षमा व्यवसायी प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । बैंकको १७औं वार्षिक साधारण सभापछि बसेको बैठकले पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।
सभाले पाण्डेसहित सीता कार्की, सजन शर्मा र दिग्विजय विष्टलाई बैंकको सञ्चालक समितिमा निर्वाचित गरेको थियो । बैंकको संस्थापक सेयर धनीका तर्फबाट उनी बैंकको अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष निर्वाचित भएपछि उनले अहिलेको संकटपूर्ण अवस्थामा बैंकलाई अघि बढाउनु चुनौतीको विषय भए पनि सफल बनाएरै छाड्ने प्रतिवद्धता जनाए ।
लोमस फर्मास्युटिकल्सका सञ्चालक पनि रहेका पाण्डे डाटा हबमा पनि आवद्ध छन् । उनी सिमेन्ट, औषधिजन्य उद्योगका सञ्चालक पनि हुन् । बैंकको अध्यक्षमा निर्वाचित भएपछि बाह्रखरीसँग कुरा गर्दै उनले भने, ‘बैंकमा च्यालेन्ज धेरै छन्,’ उनले भने, ‘लोनका समस्या छन् । ती सबै समस्यालाई समाधान गरेर अघि बढ्नुको विकल्प छैन ।’
उनका अनुसार बैंकले अब नयाँ क्षेत्रको पहिचान गर्नुपर्छ । नयाँ क्षेत्रमा लगानी गरेर बैंकको सेवाको दायरा बढाउनुपर्ने बताए । ‘बैंकको विश्वसनीयता अझै बढाउनुपर्नेछ,’ उनले भने, ‘राष्ट्र बैंक नियमनकारी निकाय भएकाले निर्देशन अक्षरस पालना गरेर बैंकलाई अघि बढाउँछु ।’



