ठुला कारोबारको डिलिङ विदेशमा हुन्छ, कानुनमा संशोधन आवश्यक : अख्तियार प्रमुख राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले विदेशमा डिल गरेर नेपालमा भ्रष्टाचार हुने गरेको बताएका छन् । यस प्रकारको भ्रष्टचारलाई रोक्न कानुनमा संशोधन आवश्यक भएको उनको भनाई छ ।

सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठको बैठकमा अख्तियार प्रमुख राईले भ्रष्टाचार अन्तर्राष्ट्रियकरण भएको बताए । भने, ‘ठुला कारोबार सिंगापुर, हङकङ र युएईमा डिलिङ हुने छ । अन्तर्राष्ट्रिय स्तरमा डिलिङ भएर हुने भ्रष्टाचारको प्रमाण सङ्कलन गर्न कठिन हुन्छ, प्रमाण सङ्कलन गर्न सक्ने गरी कानुनमा संशोधन गर्न आवश्यक छ ।’

अन्तर्राष्ट्रिय स्तरमा ठुला भ्रष्टाचारको डिल भएको सूचना आए पनि त्यसलाई प्रमाणको रूपमा ल्याउन नसकिएको उनले बताए । अख्तियार प्रमुख राईले भने, ‘एमएलए ट्रिटि छ तर, बाइल्याटरल एग्रिमेन्ट गरे मात्र सूचना आउने हुनाले त्यसबारे सरकारले सोच्नुपर्ने अवस्था छ ।’

भ्रष्टाचारको स्वरूप फेरिएर ‘करप्सन एउटाले गर्ने तर, पैसा अर्कोले लिने’ परिपाटी आएको राईले बताए । उनले भने, ‘भ्रष्टाचार एउटाले गर्छ तर, लेखनदासले पैसा लिन्छ ।’ लेखनदासले पैसा कहिले बाँड्छ भन्ने थाहा नहुने उनले बताए ।

सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई मान्यता नदिँदा दिनदहाडै घुस लेन-देन हुँदा पनि आफूहरुले केही गर्न नसकेको उनको भनाइ छ । नियमावलीमै भएको यसप्रकारको स्टिङ अपरेसनलाई सर्वोच्च अदालतले खारेज गरिदिएकाले हाल त्यो व्यवस्था हटाइएको जानकारी दिँदै राईले भने, ‘त्यो नहुँदा दिनदहाडै विभिन्न सेवाग्राहीहरुले रकमकलमको कारोबार गरे पनि हामीले केही गर्न सक्दैनौं ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस