surachha head/किन गए तीनवटै सुरक्षा निकायका प्रमुख विदेश ?

किन गए तीनवटै सुरक्षा निकायका प्रमुख विदेश ?

काठमाडौं । मुलुकमा धार्मिक र साम्प्रदायिक दुरी बढेको संकेत मिलिरहेका बेला सरकारको सुरक्षा अंगका तीन वटै प्रमुख यतिबेला विदेश भ्रमणमा गएका छन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल विदेश भ्रमणमा गएका हुन् ।

तीन वटा सुरक्षा अंगमध्ये प्रधानसेनापति र प्रहरी महानिरीक्षक बेलायत तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त आईजीपी अमेरिका भ्रमणमा गएको छ । आजै सशस्त्र प्रहरी र नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका उडेको हो । अमेरिकाको क्यालिफोर्नियामा २७ देखि ३० असोजसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय संघको सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीलगायतको टोली अमेरिका उडेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्नेछन् । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतको तीन सदस्यीय टोली पनि सोही कार्यक्रममा भाग लिन मंगलबार अमेरिका उडेको छ । सो टोलीमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित छन् ।

सम्मेलनमा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय–प्रहरी साझेदारी अवधारणाअनुरूप मानव बेचबिखनका पीडितको सशक्तीकरण र विश्वास अभिवृद्धिलगायत विविध विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रधान सेनापति शर्मा संयुक्त अधिराज्य बेलायतको भ्रमणमा छन् । प्रधान सेनापति असोज २१ मा बेलायत प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधान सेनापति शर्माले वेल्स ब्रेकनस्थित सेन्नी ब्रीज ट्रेनिङ एरिया क्याम्पमा सञ्चालित क्याम्ब्रियन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेटघाट गरेका छन् ।

शर्माले बेलायती समकक्षी जनरल सन्डेर्स र अन्य कमाण्डान्टहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । प्रधान सेनापतिसँग उपरथी सन्तोषकुमार ढकाल र सेनापतिका स्टाफ अधिकृत सहभागी छन् । प्रधान सेनापतिको अनुपस्थितिमा रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार समालेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधान सेनापति असोज २७ मा नेपाल फर्किँदै छन् ।

यसअघि यही असोज २० गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतसहित चार सदस्यीय टोली संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको थियो । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन उनीहरू गएका थिए ।

कुँवरले एआईजी टेकप्रसाद राईलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका थिए । तर, निमित्त प्रहरी प्रमुख टेकप्रसाद राई पनि मंगलबार अमेरिका गएका छन् । सुरक्षा निकायमा नेतृत्व तह विदेश भ्रमणमा जाँदा निमित्तको पनि निमित्तले दैनिक कामकाज गर्ने जिम्मेवारी लिने अवस्था सिर्जना भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस